काठमाडौँ – राष्ट्रियसभाको सोमबारका लागि तय गरिएको बैठक मङ्गलबारका लागि सारिएको छ । सोमबार मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक स्थगन गरी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय गरिएको हो ।


ADVERTISEMENT


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति तय गरेका हुन् । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले एक सार्वजनिक सूचनामार्फत उक्त कुराको जानकारी दिए । सिंहदरबारस्थित राष्ट्रियसभाको अध्यक्षको कार्यकक्षमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यससम्बन्धी निर्णय गरेको थियो । मुस्लिम समुदायको महान् पर्व इदुल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावलीअनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निष्कर्ष निकालेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै, नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा सङ्घीय संसद्को लोगो (प्रतीक) र राष्ट्रियसभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णयसमेत बैठकले गरेको छ । साथै सङ्घीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निष्कर्ष निकालिएको थियो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम २२१ बमोजिम माननीय सदस्यको पोशाक र सङ्घीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था रहेको छ ।