काठमाडौँ — वृद्धवृद्धा, एकल महिला, असहाय र लोपोन्मुख आदिवासी जनजातिलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा राज्यको दायित्व दुई वर्षमै दोब्बर भएको छ । भत्ता पाउनेको संख्या बर्सेनि बढेको र सरकारले भत्ताको दायरासमेत बढाएका कारण दुई वर्षमै खर्च दोब्बर भएको हो ।


ADVERTISEMENT


गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तामा राज्यको ढुकुटीबाट ७० अर्ब रुपैयाँ खर्च हुँदै छ । आर्थिक वर्ष ०७४/७५ मा सामाजिक सुरक्षा भत्तामा ३५ अर्ब रुपैयाँ खर्च भएको थियो । ०७५/७६ मा सामाजिक सुरक्षा भत्तामा ४१ अर्ब रुपैयाँ खर्च भएको थियो ।


ADVERTISEMENT

# # #


आर्थिक वर्ष ०७४/७५ मा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २५ लाख ५७ हजार १ सय ४९ जना थियो भने ०७६/७७ को फागुनसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या बढेर २९ लाख ५९ हजार ९ सय १५ जना पुगिसकेको छ । चालु आवमै सामाजिक सुरक्षा भत्ता पाउने थप करिब तीन लाख जनाको नाम लाभग्राहीको विवरण व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरिसकिएको छ ।

नयाँसहित अब भत्ता पाउनेको संख्या ३२ लाख ११ हजार १ सय ३१ जना पुगिसकेको जानकारी महानिर्देशक बस्नेतले दिए । उनका अनुसार थपिएका लाभग्राहीले चालु आवको चैत, वैशाख, जेठ र असारको सामाजिक सुरक्षा भत्ता पाउने छन् ।