काठमाडौं : ठूलो संख्यामा नेपाली कामदार रहेका खाडी मुलुकहरुले सामाजिक दुरीका प्रावधानहरुलाई  कडा सावधानीका साथ लागू गर्दै सामाजिक गतिविधि शुरु गरेका छन् । यूएईले लकडाउन खुकुलो गरी आर्थिक गतिविधिलाई तीव्रता दिएको छ । यूएईले प्रमुख व्यापारिक शहर दुबईमा सिनेमाघर, जिम सेन्टर, शैक्षिक संस्थाहरु र मनोरञ्जनका क्षेत्रहरु खुला गरेको छ ।


ADVERTISEMENT


यस्तै साउदी अरबले पनि स्वास्थ्य निर्देशनको पूर्ण पालना गरेर आफ्ना गतिविधि गर्न विदेशीहरुलाई छुट दिने निर्णय गरेको छ । साउदी अरबले मे ३० सम्म कफ्र्यू आदेश जारी गरेको भएपनि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुकुलो बनाउने, सरकारी तथा निजी क्षेत्रका कार्यालय, व्यापारिक मलहरु पूर्ववत रुपमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


 

त्यस्तै मे ३० देखि मक्काका सबै मस्जिदमा प्रार्थना शुरु गर्ने, जुन २० सम्म कफ्र्यू आदेश साँझ ८ बजेसम्म खुकुलो बनाउने र मक्काबाहेकका क्षेत्रमा जुन २१ देखि कफ्र्यू हटाउने निर्णय गरेको छ ।

 

ब्युटी पार्लर, सैलुन, खेलकुद तथा स्वास्थ क्लब तथा मनोरञ्जनात्मक क्षेत्रहरु र उमराह तीर्थयात्रीहरुको आगागमन भने बन्द नै रहने भएका छन् । त्यस्तै साउदीमा अर्को सूचना नभएसम्म अन्तर्राष्ट्रिय उडान बन्द नै रहेपनि आन्तरिक उडानहरु शुरु गरिने बताइएको छ ।

 

लकडाउन खुकुलो बनाउने सरकारको निर्णयपछि स्थानीयवासी तथा आप्रवासीहरुले लकडाउन समाप्त हुने र जनजीवन पहिलेकै गतिमा फर्किने भन्दै खुशी व्यक्त गरेका छन् । बुधबार साँझसम्म साउदी अरबमा ७६ हजार ७ सय २६ जना कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ४८ हजार ४ सय ५० जना निको भएर घर फर्किएका छन् भने ३ सय ८४ जना गम्भीर अवस्थामा रहेका छन् । संक्रमणबाट निको हुनेहरुको संख्या उत्साहजनक हुनुका साथै मृतकहरूको संख्यासमेत संक्रमणको तुलनामा न्यून रहेको साउदी सरकारले जनाएको छ ।

 

साउदी अरबको रियादस्थित नेपाली दूतावासले नेपाल सरकारले विविध कारणले अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा स्वदेश लैजाने सम्बन्धमा आवश्यक आन्तरिक तयारी र लजिस्टिक्स व्यवस्थापनको कार्य गरिरहेको र प्रकृयाले शीघ्र पूर्णता पाउने विश्वास  गरेको भन्दै साउदी सरकारले गरेका व्यवस्थाहरुको ध्यानपूर्वक विचार गर्न र स्वास्थ्यमा सावधानी पुर्‍याई आफ्ना गतिविधि गर्न त्यहाँ रहेका नेपालीहरुसँग अनुरोध गरेको छ ।