धनगढी — कैलालीको गौरीफन्टा नाकाबाट डेढ सातामा २८ हजारभन्दा बढी नेपाली भित्रिएका छन् । बिहीबारमात्रै ४ हजार १ सय ७२ भित्रिए ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पछिल्लो ३ दिनमा १४ हजारभन्दा बढी नेपाली भित्रिएको जानकारी दिए । ‘तीन दिनयता एकैदिन ४/५ हजारको संख्यामा भित्रिन थालेका छन्,’ उनले भने, ‘सीमा नाकाबाट भित्रिने भिडलाई सम्हाल्नै गाह्रो छ ।’ उनका अनुसार गएको मंगलबार ५ हजार २४२, बुधबार ४ हजार ७९४ र बिहीबार ४ हजार १७२ गरि तीन दिनमा १४ हजार २०८ जना भित्रिएका छन् । लकडाउनपछि गौरीफन्टा सीमा नाका पहिलोपल्ट जेठ २ मा खुलेको थियो । २ र ३ गते भारतको सीमावर्ती क्वारेन्टाइनमा बसेका ९ सय ५० जना भित्रिएका थिए । उनीहरुलाई आरडीटी परीक्षण गरी भित्र्याइएको थियो ।


ADVERTISEMENT

# # #


स्थानीय प्रशासनले भारतका विभिन्न सहरबाट भित्रिनेहरुका लागि सीमा नाका खुल्ला राखेको छ । जेठ ७ गते ८ सय ३४ जना आएका थिए । ८ गते भित्रिएका २ हजार ४९० जना मध्ये ७ सय ७५ जनाको आरडीटी गरिएको थियो । आरडीटी पोजिटिभ देखिएका १२ मध्ये ६ जनामा पीसीआर विधिबाट कोरोना पुष्टि भइसकेको छ ।

जेठ ९ देखि १२ गतेसम्म दैनिक २ हजारदेखि ३५ सयसम्म गरी १० हजारभन्दा बढी नेपाली भित्रिए । सूचना अधिकारी जोशीले बुधवारसम्म भित्रिएका २८ हजारमध्ये अधिकांश सुदूरपश्चिमका ९ वटै जिल्लाका रहेको बताए । उनले भने, ‘बढीमा २० प्रतिशत कर्णालीलगायत अन्य प्रदेशका नेपाली यो नाकाबाट भित्रिरहेका छन् ।’