एजेन्सी-  प्रहरी नियन्त्रणमा रहेका अफ्रिकी मूलका एक जना अमेरिकी मारिएको विरोधमा अमेरिकाका विभिन्न सहरमा गरिएका प्रदर्शनमा झडप भएका छन् । जर्ज फ्लोयडको मिनियापोलिस प्रहरीका एक अधिकारीले घुँडाले घाँटी थिचेका कारण ज्यान गएको थियो ।


ADVERTISEMENT


न्युयोर्क, एटलान्टा, पोर्टल्यान्डलगायत सहरहरूमा गरिएका प्रदर्शन हिंसात्मक बन्दै गएका छन् । प्रदर्शनकारीले जर्जियास्थित सीएनएनको कार्यालय नजिकै प्रहरीको एउटा कार जलाइदिएका छन् ।


ADVERTISEMENT

# # #


मिनेसोटा राज्यमा स्थिति निकै भयावह बनेको छ । मिनियापोलिस र सेन्ट पल सहरमा बेलुका ८ देखि बिहान ६ बजेसम्म कफ्र्यु लगाइएको छ । तर प्रदर्शनकारीले कफ्र्यु तोडेको जनाइएको छ । कैयौं स्थानमा टायर बालिएका छन् ।

प्रदर्शन स्थलहरूमा प्रहरी उपस्थिति निकै कम देखिएको छ । मिनियापोलिसमा लुटपाट भएका घटना टेलिभिजनहरूमा देखाइएको छ । मिनियापोलिसस्थित एक प्रहरी कार्यालयमा आगो लगाइएको छ । अमेरिकी रक्षा मन्त्रालयले सेनालाई मिनियापोलिसमा सम्भावित गस्तीका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।

एटलान्टाका अधिकांश क्षेत्रमा सम्भावित मृत्यु र सम्पत्ति जोगाउनका लागि भन्दै संकटकाल घोषणा गरिएको छ । एटलान्टाका मेयर केइसा लान्सले प्रदर्शनकारीले न्याय माग गरेको भन्दा पनि हिंसामा उत्रेको बताएका छन् ।

न्युयोर्कको ब्रुकलिनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुंदा कैयौं प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले कारहरू जनाइदिएका र घरका सिसा पनि फोडेको जनाइएको छ । प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मेयर बिल डे ब्लासिओले अमेरिकीहरूले यस्तो घटना पुन: देख्न नचाहेको बताएका छन् ।

ओरिगन राज्यको पोर्टल्यान्डमा लुटपाट मच्चिएपछि संकटकाल घोषणा गरिएको छ । प्रदर्शनकारीले प्रहरी कार्यालयमा आक्रमण गर्नुका साथै गाडीहरू जलाइदिएका छन् । डेट्रोइटमा एउटा गाडी प्रदर्शनकारीमाथि चलाइएपछि एक जनाको मृत्यु भएको छ । प्रहरीले १९ वर्षीय युवको मृत्युबारे छानबिन भइरहेको जनाएको छ ।