काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९)का कारण थप एकजनाको ज्यान गएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं. ३ का ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार सुर्खेतमा दमको उपचार गराएर गत जेठ १९ गते गृह जिल्ला डोल्पा फर्किएका थिए । होम क्वारेन्टिनमा रहेका उनलाई श्वास फेर्न गाह्रो भएको र जेठ २१ (बुधबार) गते मृत्यु भएको महाशाखा प्रमुख डा. तिवारीले  शनिबार दिउँसो जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । ।


ADVERTISEMENT

# # #


मृत्यु पश्चात जेठ २२ (बिहीबार) गते स्वाब संकलन गरी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड– १९ परीक्षणका लागि पठाइएको थियो । उनको पीसीआरबाट गरिएको परीक्षणमा २३ गते (शुक्रबार) कोरोना रिर्पोट पोजेटिभ आएको महाशाखा प्रमुख डा. तिवारीले जनाएका छन् ।

यससँगै नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ भने कर्णाल प्रदेशमा मात्रै ३ जनाले ज्यान गुमाएका छन् ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, दैलेखका ३५ वर्षीय पुरुष, ललितपुरका ५६ वर्षीय पुरुष, अर्घाखाँचीका ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका ७६ वर्षीया पुरुष, पाल्पाका ४५ वर्षीय पुरुष, सुर्खेतका २८ वर्षीय पुरुषले कोरोनाका कारण ज्यान गुमाएका थिए ।