काठमाडौँ – चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले छिमेकी मुलुकसँगका सबै समस्या आपसमा बसेर संवादका साथ सार्वभौम र समानताका आधारमा समाधान गर्न सकिने बताएका छन्।


ADVERTISEMENT


नुवाकोट सरोकार समाजले आज आफूलाई बधाई र शुभकामना दिन आयोजना गरेको कार्यक्रममा राजदूत पाण्डेले चीन र भारत दुवै छिमेकी तथा सबै मित्रराष्ट्रसँग सम्मानपूर्ण व्यवहार नेपालको प्राथमिकता रहेको उल्लेख गर्दै नेपालले राष्ट्रहित, राष्ट्रको आवश्यकता र जनताको भावनालाई सम्बोधन गर्ने गरी कूटनीतिक सम्बन्ध विस्तार गर्ने स्पष्ट गरे ।


ADVERTISEMENT

# # #


“कूटनीतिमा तथ्यमा आधारित भएर सत्य खोज्ने र वैज्ञानिक ढङ्गबाट समाधान गरिन्छ । त्यसकारण हामीले छिमेकीहरुसँग मित्रवत्रुपमा संवादबाट सबै समस्याको समाधान गरी ती मुलुकको आर्थिक प्रगतिबाट लाभ लिने योजना बनाउनुपर्छ ”, गत वैशाख ५ गते राजदूतमा नियुक्त पूर्वपरराष्ट्रमन्त्री पाण्डेले भने, “नेपाल कुनै पनि मुलुकको विरोधी होइन तर हामीलाई कसैले धक्का दिन खोजेमा पछि हट्नु हुँदैन । मुलुकको समृद्धिका लागि हामीले योजनामा मात्र नभई व्यवहारमा काम गरेर देखाउनुपर्ने बेला आएको छ ।”

कार्यक्रममा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद नारायणप्रसाद खतिवडाले यसअघि नेपाल र चीनबीच भएका नेपालको हित हुने सम्झौताको कार्यान्वयनका लागि नवनियुक्त पाण्डेलाई भूमिका निर्वाह गर्न तथा नेपाल, भारत र चीनको त्रिदेशीय सीमाको समस्या समाधान गर्नका लागि पहल गर्न सुझाव दिए ।

नुवाकोट क्षेत्र १ बाट निर्वाचित सङ्घीय सांसद हितबहादुर तामाङले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेर दिइने संज्ञा हीनताबोधी भएको जनाउँदै हामी आफ्नो हितका लागि कसैसँग झुक्न नहुने बताए ।

बाग्मती प्रदेशसभाका सदस्यद्वय बद्री मैनाली र कल्पना नेपाली, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नुवाकोटका जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, सरोकार समाजका अध्यक्ष रामशरण प्याकूरेल, समाजका महासचिव अनुजकुमार श्रेष्ठ, सचिव विनोद न्यौपाने, सदस्य आरएम डङ्गोललगायतले राजदूत पाण्डेको कार्यकाल सफलताको कामना गरेका थिए । रासस