काठमाडौँ – भारतले नेपालका ५६ वटा उच्च माध्यमि विद्यालयको पुनःनिर्माण गर्ने भएको छ । गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणगर्ने गरी सम्झौता भएको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौँस्थित भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको २.९५ अर्ब नेपाली रुपैयाँ आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिने भारतीय दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहनेछ । भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्ने दूतावासले जनाएको छ ।

भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिवद्ध रहेको दूतावासको भनाई छ ।