काठमाडौँ – कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले दैनिक एक हजार नागरिकको पिसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताएका छन् । कर्णाली प्रदेशसभाको प्रदेश मामिला तथा विधायन समितिको आज बसेको बैठकमा उनले हाल दैनिक ३०० जनाको परीक्षण भइरहेकामा अब नयाँ मेसिन जडान गरेर एक हजार जनाको पिसीआर परीक्षण गर्ने बताए।


ADVERTISEMENT


समितिले मन्त्री रावललाई बैठकमा बोलाएर कर्णालीमा कोरोना सङ्क्रमण, जोखिमको अवस्था, नियन्त्रण प्रयास, पिसीआर जाँच, स्वास्थ्यकर्मीको अवस्थालगायतका विषयमा छलफल गरेको हो । प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले सुर्खेतमा जडान गर्ने गरी पिसीआर मेसिन खरीदको प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्री रावलले टेकुको केन्द्रीय प्रयोगशालाको भन्दा प्रदेशहरुमा पिसीआर जाँच बढी कर्णालीमै हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । “कर्णाली प्रदेशले हालसम्म १० हजार १८४ जनाको पिसिआर जाँच गरेको छ”, उनले भने, “नौ हजार १२४ जनाको नतिजा नेगेटिभ र ६.३४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ, २२ हजार ९०५ को दु्रत विधिको आरडिटी परीक्षण गरिएको छ ।”

बैठकमा मन्त्री रावलले २७ स्थानीय तहमा ५०-५० बेडका आइसोलेशन वार्ड स्थापनाको कार्य पनि अघि बढाइसकेको जानकारी दिए। उनले भने, “सल्यान जिल्ला अस्पतालमा आइसोलेशन वार्ड स्थापना भइसकेको छ, अन्य स्थानमा पनि बन्दैछन्, सङ्क्रमितलाई आइसोलेशनमा राखेर नतिजा नेगेटिभ आएपछि मात्र घर पठाउन निर्देशन दिइएको छ ।” कर्णालीमा ६४ प्रतिशत स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेकाले कोरोना नियन्त्रणमा समस्या भएको उनको भनाइ थियो ।

समितिका सदस्य धर्मराज रेग्मीले दैलेख कोरोनाको ‘रेड जोन’ बनिसक्दा प्रदेश सरकारले चिकित्सकसहित स्वास्थ्यकर्मी पठाउन नसकेको बताए । समितिका सदस्यहरुले पिसीआर मेसिन खरिद गर्न ढिला गर्दा परीक्षण नभएर नागरिकको मृत्यु हुने गरेको गुनासो गरेका थिए । समितिका सदस्य मिनासिं रखालले एम्बुलेन्स खरिद तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने तयारी के छ भनी प्रश्न गरे । जवाफमा मन्त्री रावलले अवस्था अटिल बन्दै गए कम्तीमा २५० स्वास्थ्यकर्मी करारमा लिन सकिने गरी मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।