काठमाडौ । राज्यमन्त्री तथा मधेस समता पार्टीका अध्यक्ष मेघराज निसाधको निधन भएको छ । मिर्गौला सम्बन्धी समस्याबाट पीडित निसाधको उपचारकै क्रममा आज मंगलबार दिउँसो बीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षको उमेरमा निधन भएको हो । निसाधका पिता जयप्रकाश निसाध पनि पञ्चायत कालका मन्त्री हुन् । निसाधका दुई छोरा र एक छोरी छन् ।


ADVERTISEMENT


 

यसअघि प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्मा मधेश समता पार्टीका तर्फबाट निसाध उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए । पछिल्लो समय उहाँले नेतृत्व गर्नुभएको मधेश समता पार्टी नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएको थियो ।


ADVERTISEMENT

# # #


यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निसाधको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज शोक वक्तव्य जारी गरी निसाध सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका रुपमा आफूले पाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा दिवङ्गत हुनुभएका निसाधप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको निधनबाट शोकमा परेका परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गरेका छन् ।