काठमाडौँ – राष्ट्रियसभाका सदस्यले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बढ्दै गएको हत्याहिंसा अन्त्य गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट (पार्टी) का गोपाल भट्टराईले पछिल्लो समयमा रुकुम र रुपन्देहीलगायत जिल्लामा भएको हत्यामा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरे ।


ADVERTISEMENT


उनले भने, “रुकुमको घटना सेलाउन नपाउँदै गए राति अर्को विभत्स र कहालीलाग्दो सामूहिक हत्या भएको छ, रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं १० मा रहेको कृष्ण पुनको पशु फाराममा काम गर्ने श्रमिकहरु र सोही ठाउँमा बस्ने माधव मुसहर, उनकी श्रीमती जानकीलगायत पाँच जनाको हत्या भएको छ, त्यस घटनाको छानबिन गरी कारवाही गरियोस् ।”


ADVERTISEMENT

# # #


नेकपाकै तारामान स्वाँरले कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी मात्रै विकल्प हुन नसक्ने बताउँदै स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए । “कोरोनासँगको लडाइँमा बन्दाबन्दी मात्रै हतियारको रुपमा रहेको देखाइएको छ तर त्यसका दूर परिणामसँग जुध्ने उपाय हामीसँग छैनन्, त्यसैले सबैभन्दा पहिला, स्वास्थ्य व्यवस्थालाई मजबुत बनाउन आवश्यक छ”, उनले भने । उनले आइतबार अछाम जिल्लामा न्याय हेल्प नेपाल नामक संस्थाद्वारा सञ्चालित बयलपता अस्पतालमा कार्यरत कर्मचारी सिद्धार्थ आउजीले कोभिड–१० को महामारीका समयमा जागिरबाट निष्काशन गर्दा आत्मदाह गरेको घटनाको छानबिन गर्न माग गरे ।

सोही दलकी सुमित्रा बिसीले कोभिड–१९ ले आक्रान्त अवस्थामा सीमामार्फत भारतबाट आउने सबैलाई कोभिड–१९ परीक्षण गरेर मात्र नेपाल ल्याउनुपर्नेमा जोड दिइन् । नेकपाकै तुलसाकुमारी दाहालले चुरे संरक्षणमा सरकारको ध्यानाकर्षण गराइन् । सोही पार्टीकी कोमल वलीले सरकार भएका स्रोतसाधनको उचित प्रयोग गरी कोभिड–१९ को नियन्त्रणमा लागिरहेको बताइन् । नेकपाकी विमला पौड्यालले एसइईको परीक्षा हुन नसकेका कारण विद्यार्थी तनावमा रहेको बताउँदै कसरी सञ्चालन गर्ने भन्नेबारे तत्काल सूचना सार्वजनिक गर्नुपर्ने माग गरिन् ।

नेपाली काँग्रेसकी तारादेवी भट्टले कोभिड–१९ परीक्षणमा आवश्यक पिसिरआर किट अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । सोही पार्टीका प्रकाश पन्थले कोभिड–१९ सँगै रोजगारीमा देखिएको प्रतिकूल प्रभाव न्यूनीकरण गर्नका लागि सरकारले आर्थिक प्याकेजको घोषणा गर्नुपर्ने माग गरे । रासस