भक्तपुर – कुवेत सरकारको आममाफीमा परेर आज नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको छ । कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस संङ्क्रमणको आशंका भएपछि आज नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको हो ।
कुवेतबाट फर्किँदा गरिएको कोभिड–१९ को परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शरीरको तापक्रम मापन गर्दा दुई जनामा ज्वरो आएको पाइएपछि सबैलाई खरिपाटी क्वारेन्टाइन लगिएको हो । विपद् व्यवस्थापन समिति (सिसिएमसी) भक्तपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले होल्डिङ सेन्टरमा राखेर सम्बन्धित प्रदेश पठाउने तयारी गरिएपनि फर्किएकामध्ये दुईलाई ज्वरो देखिएपछि सबैलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको बताइन्।
ज्वरो देखिएका दुई जनाको आजै स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । आममाफी गराई १४० महिला, दुई वर्षमुनिका दुई बालबालिका र १२ वर्षमुनिका सात बालबालिकालाई कुवेतले सरकारले आफ्नै जहाजबाट निःशुल्क आज नेपाल ल्याइदिएको हो ।