पोखरा — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम ५९ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको वित्तीय प्रगति भने ४५ प्रतिशत मात्रै छ ।


ADVERTISEMENT


लकडाउनको अवधिमा एक दिन पनि काम नरोकिएको आयोजनामा यति बेला २ सय ५० चिनियाँ र एक सय नेपाली कामदारले दैनिक काम गरिरहेका छन् । टर्मिनल, टावर, अध्यागमन, भन्सार, ह्यांगर, कार्गो, प्रशासनिक, अग्नि नियन्त्रण, क्वारेन्टाइन, उद्धार कक्षलगायत १४ भवन बनिसकेका छन् । भवनमा उपकरण जडान, डेकोरेसन र फिनिसिङ (रङरोगनलगायत) काम हुँदै छ । नाला निर्माण र पानी निकासको संरचना पनि बनिसकेको छ । रनवे, ट्याक्सी वे, आन्तरिक र बाह्य एप्रोन पहिल्यै बनिसकेका थिए ।


ADVERTISEMENT

# # #


पछिल्लो समय सिमेन्टलगायत निर्माण सामग्री सहज ढुवानी भएकाले एक महिनाभित्र सबै ढलान सक्ने गरी काम भइरहेको विमानस्थल आयोजनाले जनाएको छ । तर चीनबाट ल्याउनुपर्ने ठूलो परिमाणको निर्माण सामग्री केरुङ नाका र भारतको कोलकातामा रोकिएकाले कामले तत्काल तीव्रता भने नपाउने भएको छ । विशेषगरी डेकोरेसन, फिनिसिङ, प्लम्बिङ र विद्युतीयलगायत सामग्री रोकिएका हुन् ।

जना प्रमुख विनेश मुनकर्मीका अनुसार सामान आएमा कामले अझै गति लिनेछ । तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सकेर नेपाल सरकारलाई बुझाउने भन्दै ठेकेदार कम्पनीले सोहीअनुसार काममा तीव्रता दिएको थियो । तर कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण कामको गतिमा कमी आएको हो ।