काठमाडौं – निजी क्षेत्रको नेतृत्व गर्ने उद्योग वाणिज्य महासंघ नेतृत्वको असक्षमता र अकर्मण्यताले फुटको सँघारमा पुगेको व्यवसायीहरुले दाबी गरेका छन् । यसले गर्दा निजी क्षेत्रका तमाम समस्या र एजेन्डाहरू बेबारिसे बनेको र उद्योग व्यवसायमा सन्नाटा छाएको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


महासंघ अध्यक्ष भवानी राणाले ‘खोलो तर्यो लौरो बिर्स्यो’ भन्ने उक्तिलाई चरितार्थ गर्दै आफुलाई अध्यक्ष बनाउनेदेखि हालसम्म हरेक विषम परिस्थितिमा साथ दिने व्यक्ति र समुहलाई धोका दिँदै असान्दर्भिक गठबन्धन र अवैधानिक क्रियाकलाप गरेको भन्दै महासंघमा ईतिहासकै ठूलो दरार उत्पन्न भएको बताईएको छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष बन्ने समयमा साथ दिनेहरूलाई लल्कारेर लिखित रूपमै आफुलाई बहिष्कार गर्ने पूर्वअध्यक्षहरूको लहैलहैमा अध्यक्ष राणा लागेपछि निजी क्षेत्रमा नैतिकता र जिम्मेवारिताको खडेरी लागेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

राणाकै समयमा कृषि उद्यमको क्षेत्रमा भएको बेरूजुका विषयमा अख्तियारमा फाईल छानबिनमा रहेको छ । सोहि कारण महासंघलाई सरकारले दिने प्रोजेक्टहरू यतिबेला ठप्प बन्न पुगेको भन्दै नेतृत्वको चर्को विरोध समेत भईरहेको छ । श्रोतका अनुसार महासंघले बुझाउने बिल भौचरमा ठूलो अनियमितता देखिएको र बेरूजु पाईएको भन्दै ५४ वर्षको इतिहासमा पहिलो पटक कर कार्यालयले कर दाखिला र बेरूजु फर्छ्यौट मिलाउन भन्दै नवीकरण रोक्का गरेर फिर्ता पठाएको छ ।

राणाले पहिलो पटक बर्दियाबाट पदाधिकारिमा मनोनयन गर्दा वर्तमान कोषाध्यक्ष निरक केसी प्रतिस्पर्धी हुँदा उनको वैधानिकतामा प्रश्न उठाउँदै पदाधिकारी बन्न नसक्ने बताएका थिए । यस्तै पदाधिकारीको वरिष्ठमा पूर्वअध्यक्ष पशुपति मुरारकासँग पराजित भएपछि पूर्वअध्यक्ष चण्डीराज ढकालको समर्थनमा प्रदिपजङ्ग पाण्डे अध्यक्ष हुँदा कृषि उद्यम केन्द्रको सभापति बनाएर ल्याईएको थियो । जुन अवैधानिक भन्दै विवादित बनेको थियो । तर, राणाको जिम्मा पाएको केन्द्र यतिबेला कर्मचारीहरूलाई तलब नै खुवाउन नसक्ने अवस्थामा पुगेको केन्द्रका एक वरिष्ठ अधिकृतले जानकारी दिए । केन्द्रको अनियमितताको विषयमा बोल्दा तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई मानमर्दन गर्दै पदबाट हटाईएको थियो । तर, प्रधानले सो बेलाको अनियमितताका प्रमाणहरू अझै आफुसँग सुरक्षित रहेको भन्दै हिँडिरहेको उद्योगी व्यवशायीहरू बताउँछन् ।

गत फागुनमा किशोर प्रधानको चुनावी सभामा उपस्थित भएका पूर्वअध्यक्षहरू विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, पशुपति मुरारका लगायत दर्जनौँ उद्योगी व्यवशायीहरूको उपस्थितिमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघको इतिहासमा नै सबैभन्दा कमजोर नेतृत्व, हिसाब किताब पारदर्शी नभएको आरोप लगाएका थिए । कमजोर नेतृत्वका कारण सरकारी, गैरसरकारी र वैदेशिक रूपमा आउने प्रोजेक्टहरू नै फिर्ता गएको भन्दै गोल्छाले महासंघको सचिवालय आफ्नै कर्मचारीहरूलाई तलब समेत खुवाउन नसक्ने गरी कमजोर बनेको राणालाईं आरोप लगाएका थिए ।

राणाले आफ्नो आफ्नो स्वार्थ अनुकुल मनस्थिति बदलेपछि उनलाई हरेक समयमा साथ दिने पूर्व अध्यक्ष चण्डीराज ढकाल समेतलाई धोका भएको चर्चा चलेको छ । राणाको गलत नीति, प्रवृत्ति र अकर्मण्यताको शिकार ढकाल भईरहेको विश्लेषण गरिएको छ । राणालाई महासंघको हरेक ठाउँमा मनोनित मात्रै नगरेर उनका सबै राम्रा नराम्रा कामहरू ढाकछोप गर्दै महासंघको नेतृत्वसम्ममा पूर्याउने पूर्वअध्यक्ष ढकाललाई नै उनले बिर्सिदिँदा महासंघको धार अनौठो रूपमा परिवर्तन भएको हो ।

कार्यकाल सकिँन लाग्दा अबको नेतृत्वमा गोल्छा आउने अनुमानका आधारमा राणाले विगत बिर्संदै व्यक्तिगत स्वार्थमा लागेर क्याम्प परिवर्तन गरेको खुलेको व्यवसायीहरुको दाबी छ । उनले पदाधिकारीमा भएका छलफलका विषयहरूलाई समेत विगतमा विरोध गर्ने पूर्वअध्यक्षहरू समक्ष पूर्याउने गरेको आरोप लाग्ने गरेको छ । उनलाई अध्यक्ष बनाउन काँध थाप्ने पूर्वअध्यक्ष ढकाललाई नै नटेरेर राणाले विगतमा अध्यक्ष बन्ने बेला व्यक्तिगत लान्छना लगाउने पूर्वअध्यक्षहरूसँग नै हिमचिम बढाउन पुगेको घटना आश्चर्यजनक भएको भन्दै महासंघमा हंगामा मच्चिएको छ ।

विगतमा आफ्नो मानमर्दन गर्नेहरूसंगै लागेर महासंघको अध्यक्षसम्म बनाउन सक्ने पूर्वअध्यक्ष ढकालकैविरूद्ध मोर्चाबन्दी र मानमर्दन गरेको घटना नियाल्नेहरू महासंघमा अनौठो मान्दै जिब्रो टोकिरहेका छन् । तर, महासंघको अध्यक्षमा सुरज वैद्य, पशुपति मुरारका, प्रदिपजङ्ग पाण्डे लगायतलाई स्थापित गराउने पूर्वअध्यक्ष ढकालकोविरूद्दमा नै राणा समेत लागेर व्यक्तिगत मानमर्दन र मोर्चाबन्दी गरिरहेको खुल्न आएको हो ।

विगतमा राम्रा व्यक्तिहरूलाई रोकेर असक्षम र कमजोर व्यक्तिहरूलाई नेतृत्वमा अघि बढाएकै कारण समेत त्यसको असर ढकालले समेत भोगिरहेको समेत विश्लेषण गरिएको छ । राणाले कोरोनाको बहानामा कार्यकाल लम्ब्याउँदै जाने र स्वार्थपूर्ण एजेन्डाहरू स्थापित गराउन सोही अनुसारका समुहहरूसंग नजिकिने रणनीतिमा रहेको एक सदस्यले खुलाए ।

महासंघको वर्तमान नेतृत्व अवैधानिक भईसकेको भन्दै आवाज समेत उठ्न थालेको छ । महासंघको नियमावलीमा समेत दुई महिनासम्म मात्रै निर्वाचन मिति सार्न सकिने उल्लेख छ । गत फागुनमा बसेको महासंघको कार्यसमितिले चैत २९ गते निर्वाचन गर्ने निर्णय गरेपनि सो मिति सार्न विधानत फेरि कार्यसमिति बसेको छैन । एकलौटी रूपमा अध्यक्ष र पदाधिकारीले मात्रै म्याद थप्ने गरी गतिविधि गरिरहनु कानून सम्मत नहुने र यसले वैधानिकता नपाउने भन्दै महासंघकै वैधानिकतामा प्रश्न उठेको कानूनविदहरूले स्पष्ट पारेका छन् ।

कार्यसमितिको दुई तिहाई बहुमतले गर्ने बाहेकका महासंघका कुनैपनि निर्णय वैधानिक नहुने समेत कानुनविदहरूको भनाई छ ।

महासंघ सामाजिक संघसंस्था अन्तर्गत दर्ता भएर मन्त्रीपरिषदले नै यसको विधान स्वीकृत गरेकाले नियम कानुन उलंघन गरेको खण्डमा राज्यका नियामक निकायले यसमा हस्तक्षेप गरेर निर्वाचन गराउँदै महासंघलाई जीवनदान दिनुपर्ने अधिकांस पदाधिकारी, सदस्यहरू, जिल्ला नगरका सदस्य तथा विज्ञहरूले राय दिएका छन् ।

तत्काल निर्वाचन गराएर नयाँ कार्य समितिलाई महासंघको नेतृत्व सुम्पिएर कोरोना भाईरसको प्रकोपका समयमा थिलथिलो बनेको निजी क्षेत्रलाई तंग्य्राउनुको विकल्प नरहेको विज्ञहरूको सुझाव छ ।