जनकपुर – बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पुर्‍याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ ।


ADVERTISEMENT


कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि विभागले निर्माणलाई निरन्तरता दिएको छ । विभागले रेलमार्ग निर्माणलाई बन्दाबन्दीको समयमा समेत जारी राखेको छ । उनले भने, “बन्दाबन्दीका कारण केही दिन रोकिए पनि त्यसपछि काम भइरहेको छ ।”


ADVERTISEMENT

# # #


बर्दिबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा ट्र्याक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको छ । नेपाली लगानीमा निर्माणाधीन सो रेलमार्ग निर्माण नेपाली निर्माण व्यवसायीले नै गरिरहेका छन् । लालबन्दी–निजगढ खण्डलाई विभिन्न आठ प्याकेजमा विभाजन गरिएको छ । सामाजिक दूरी कायम गरेर जिल्ला प्रशासन कार्यालयहरुको समन्वयमा निर्माण अघि बढाइएको हो ।

विभागका अनुसार जनकपुर–विजुरापुरा खण्डमा रेल्वे ट्र्याकको काम भइरहेको छ । जयनगर–जनकपुर सम्पन्न भएर सञ्चालनको तयारी हुँदा जनकपुरबाट बिजुरापुरासम्मको ट्र्याक निर्माण भइरहेको छ । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी भइरहेको जनाइएको छ । यसका लागि रेल्वे कम्पनीमार्फत रेल सञ्चालनका लागि सरकारले कर्मचारी व्यवस्थापन अघि बढाएको छ । दुई रेल सेट सीमा नजीकै आइसकेको उनले बताए । उनले भने, “रेल सेट आइसकेको छ अब मात्रै हामीले कर्मचारी व्यवस्थापन गर्न बाँकी छ ।”

राष्ट्रिय गौरवको पूर्व–पश्चिम रेलमार्गमा अध्ययन तथा मुआब्जा वितरणसँगै रेलमार्ग निर्माणको भइरहेको उनले जानकारी दिए । विभिन्न स्थानमा पुल निर्माणको काम भइरहेको छ । सो रेलमार्गअन्तर्गत बर्दिवासमा पुल निर्माण भइरहेको छ । कांकडभिट्टा इनरुवा खण्डमा आगामी आवमा ठेक्का सम्झौता गरेर निर्माण अघि बढाइनेछ । रेलमार्गका कतिपय स्थानमा मुआब्जा बाँड्ने काम बाँकी छ । बर्दिवासलगायत जिल्लामा मुआब्जा बाँकी छ । उनले भने, “आगामी वर्ष थप काम अघि बढ्नेछ ।”

बन्दाबन्दीको समयमा झण्डै चार सय जना निर्माणस्थलमा काम गरेको विभागले जनाएको छ । झण्डै १२ स्थानमा पुल निर्माण भइरहेको छ । कतिपय स्थानमा रूख कटानका काम पनि यो समयमा भइरहेको छ ।

सरकारले रेलमार्ग निर्माणलाई विगतका वर्षदेखि नै महत्व दिइरहेको छ । स्थल यातायातको सबैभन्दा भरपर्दो र सस्तो साधनका रुपमा यसलाई लिइन्छ । सरकारले आगामी आवका लागि रेलमार्ग निर्माण र अध्ययनका लागि रु आठ अर्ब ६६ करोड विनियोजन गरेको छ । जयनगर–जनकपुर–बिजुरापुरासम्म आगामी आवमा रेल सञ्चालन गरिने भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले हालै प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिएका थिए । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको अध्ययन नभएका स्थानमा सम्भाव्यता अध्ययन गरिने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख छ । सोही रेलमार्गको कांकडभिट्टा–इनरुवा खण्डको निर्माण आगामी आवमा शुरु गरिनेछ । आगामी आवमा नै बर्दिवास–निजगढ खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

रसुवागढी–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यस्तै, दक्षिणी सीमा नाकाबाट पूर्व–पश्चिम विद्युतीय रेलमार्गको इटहरी, निजगढ, बुटवल र कोहलपुर जोड्ने रेल्वे लाइन पनि निर्माण अघि बढाइनेछ ।