लन्डन  । कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीनजनाको मृत्यु भएको छ । गतसाता संक्रमणका कारण मृत्यु भएकाको संख्या शुन्य रहे पनि यो साता थप ३ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । योसँगै गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ ।  यो साता मृत्यु भएका तीनैजना कतारमा कार्यरत नेपाली हुन्  ।


ADVERTISEMENT


गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।


ADVERTISEMENT

# # #


डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।   नेपालको ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।

तीनहजार बढी नेपाल फर्किए 

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन देखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो ।  गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीनहप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेको एनआरएनएले जनाएको छ ।

४० जना नेपालीको शव नेपाल लगियो

यसैबीच यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ ।   लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ ।  विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो ।

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि छ । यसबाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी छ ।  ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको छ ।