नारायण ढुङ्गाना, काठमाडौँ – सरकारले यसपालि मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरेको छ । विगतको सूचना प्रणालीलाई थप व्यवस्थित गर्दै कहाँ–कहाँ कुन खालको असर हुनसक्छ भनेर आँकलन गरी असरमा आधारित पूर्वसूचना प्रणाली लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सूचना प्रणालीबारे राससलाई जानकारी दिँदै भने, “यसपालि सूचना प्रणालीलाई थप व्यवस्थित गरी असरमा आधारित बनाउन खोजेका छौँ, विगतमा जस्तो बाढी बढ्ने सम्भावना छ, पानी पर्ने सम्भावना छ मात्रै भन्दैनौँ, त्यसबाट कहाँ–कहाँ, कस्तो असर पर्न सक्छ, कसरी सावधानी अपनाउन सक्छौँ भन्नेसम्म सूचना प्रणालीले समेट्ने छ ।”


ADVERTISEMENT

# # #


यस प्रणाली व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौँले समन्वय गर्नेछ । आवश्यक प्राविधक जनशक्तिलाई प्रशिक्षणसमेत दिइसकिएको छ । अहिले पनि मौसम विज्ञान विभागले नियमित रुपमा सूचना दिइरहेको छ । त्यसलाई अन्य क्षेत्रसँग समन्वय गरेर दैनिक ‘विपद् बुलेटिन’ समेत निकाल्ने तयारी छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बङ्गालको खाडीबाट मनसुनी वायु आयो मात्रै नभनी त्यसले नेपालको कुन–कुन क्षेत्रलाई असर गर्छ, कहाँ बढी क्षति पुर्याउँछ, त्यसको सामना कसरी गर्ने भन्ने कुरासमेत यसपालिको सूचना प्रणालीमा समावेश हुने बताए । यस्तै नदीमा पानीको बहाव बढ्यो मात्रै नभनी त्यसले कुन–कुन क्षेत्रमा कस्तो असर पुर्याउन सक्छ भन्ने सूचना पनि उक्त प्रणालीमार्फत जानेछ ।

यसपालि मनसुन शुरु हुनुअघि नै जमिन गलिसकेको छ । त्यसैले थोरै पानी पर्दैमा क्षति बढ्नसक्ने अनुमान मौसमविद्को छ । कोभिड–१९ को असरका कारण समस्या परिरहेको अवस्थामा सर्वसाधारण पनि सतर्क हुनुपर्ने प्राधिकरणका उपसचिव वेदनिधि खनालले बताए । उनले कोभिडका कारणले मात्रै मनसुनजन्य विपद्लाई छायामा पार्न नहुनेमा जोड दिए ।

यसपालि पूर्वतयारी, पूर्व सूचना प्रणालीको व्यवस्थापन, भइपरी आएका घटनाको सामना गर्न आवश्यक बन्दोबस्ती र जनशक्तिको व्यवस्थापन गर्दै क्षतिको न्यूनीकरणमा ध्यान दिइएको छ । गृह मन्त्रालयले आवश्यक कार्ययोजना तयार गरेर मन्त्रालयगत जिम्मेवारीसमेत तोकिसकेको छ ।

विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलोपटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकका सामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौतीका बीच सरकारले विपद् व्यवस्थापनमा आवश्यक तयारी गरिरहेको छ । मुलुकको ध्यान कोभिड–१९ मा रहेको वर्तमान अवस्थामा मनसुनजन्य विपद्लाई कमजोर आँकलन गर्न नहुनेमा विज्ञको जोड छ । विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाले अलगअलग रुपमा दुई विपद्को व्यवस्थापन गर्न नसके ठूलो जोखिम उठाउनुपर्ने अवस्था आउनसक्ने आशङ्का रहेको बताए ।

गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । झण्डै सात अर्ब रुपैयाँको क्षति भएको विवरणमा उल्लेख छ । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ । जलवायु परिवर्तन, भूकम्प र जल प्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः चारौँ, एघारौँ र तीसौँ स्थानमा छ ।

मुलुकमा विपद्को फरकफरक प्रकृति छ । बाढी, पहिरो, डुबान, पानीजन्य रोगले असारदेखि भदौसम्म ठूलो जोखिम पार्छ । यसपटक डुबान, कटान, बाढी, पहिरो र पानीजन्य रोगका कारण झण्डै ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ आवश्यक पूर्वतयारी गरिएको छ ।

पोखरेलले प्राधिकरणले समन्वयात्मक भूमिका निर्वाह गर्ने भएपनि अपरेशनको सबै भूमिका स्थानीय तहकै भएको बताउनुहुन्छ । गत वर्षको विवरणमा बाढीका कारण ८३ जनाको मृत्यु भएको थियो । पहिरोका कारण ९३ जनाको मृत्यु भएको थियो । प्राधिकरण हालै स्थापना भएकाले अनुभवको कमी हुँदा यसपटक अन्य सरकारी निकायको भूमिका महत्वपूर्ण हुन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसपालिी मुलुकमा औसत वर्षा हुने अनुमान गरिएको छ । रासस