चितवन – जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ । समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताए ।


ADVERTISEMENT


डल्लाकोटीले चैत महिनाको ११ गतेसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र तीन महिनाको छुट गरिदिने तयारी गरेको जानकारी दिए । जिल्ला समन्वय समितिको व्यावसायिक सटर र घरबाट मासिक रु तीन लाख ९० हजार भाडा सङ्कलन हुने गर्दछ । डल्लाकोटीले भने, “सरकारले लकडाउन गर्ने हामीले कसरी भाडा लिने ।” सरकारलाई सरकारी तहले सहयोग गर्नुपर्ने भन्दै उनले व्यवसाय नभएकासँग सरकारी निकायले भाडा लिनु न्यायिक नहुने बताए ।


ADVERTISEMENT

# # #


यसलाई समितिले छिट्टै निर्णय गर्ने डल्लाकोटीको भनाइ छ । जिल्लामा घरबाहलमा बस्नेले भाडा छुट गरीदिन माग गरिरहेका छन् । निजी क्षेत्रले समेत भाडाको टुङ्गो लगाई सकेको छैन । मुख्यरुपमा जिल्लाको प्रमुख बजार नारायणगढ र भरतपुर क्षेत्रमा महँगो भाडा तिर्ने व्यवसायी रहेका छन् । सरकारी तवरबाट समन्वयसहित अस्पताल, विद्यालय, क्याम्पस, नेपाल प्रहरी, नागरिक उड्डयन प्राधिकरणलगायतले घरभाडामा लगाएतका छन् ।

ती निकायले भाडाको टुङ्गो लगाउन नसकी रहेका बेला जिल्ला समन्वय समिति प्रमुखले भाडा छुट गर्ने जनाएका हुन् । यससँगै अन्य सरकारी कार्यालय र निजी क्षेत्रलाई दबाब र सहजता हुने भएको छ ।