काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लबमा बोल्दै राज्यमन्त्री दुगडले वर्तमान प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर गरे । उनले भने, ‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा हटाउनेबारे सोच्नु दोष हो, यो अपराध हो । पाप लाग्छ ।’ उनले सरकारको विरोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


मन्त्री दुगडले अहिलेको अवस्थामा प्रधानमन्त्री बदल्ने काम गर्न नहुने स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्री बदल्ने काम दुर्भाग्यपूर्ण हुन्छ । प्रधानमन्त्री, मन्त्री हट्दैमा देश बन्छ भनेर कसले ग्यारेन्टी लिन्छ ?’ उनले प्रधानमन्त्री ओलीको विकल्प नभएको जिकिर गरे ।

वर्तमान प्रधानमन्त्री ओलीमा देश बनाउने संकल्प रहेको र सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिररहेको पनि उनको भनाई छ । नेपालले संसदबाट नयाँ नक्सा पारित गरेपछि भारतले नेपालसँगको सम्बन्ध टुटाउनेबारे भ्रामक कुरा बाहिर आएकोप्रति उनले टिप्पणी गर्दै उनले सानो–सानो कुराले दुई देशबीचको सम्बन्ध नटुट्ने बताए ।

उनले भारतसँगको सीमा विवाद समाधान गर्न वार्ता हुने स्पष्ट पारे । उनले भने, ‘निश्चय नै भारतसँग वार्ता हुन्छ । वार्ताको विकल्प छैन् । अहिले पनि  केही स्तरमा वार्ता भैराखेको छ ।। उच्चतम स्तरमा, प्रधानमन्त्रीको तहबाटै वार्ता हुनुपर्छ ।’ नेपाल कहिल्यैपनि कसैको अधिनमा नबसेको र सधैं स्वतन्त्र, अखण्ड र स्वाधिन देश भएको उल्लेख गर्दै आफूहरु कसैसँगपनि दबिएर नबस्ने उनले विश्वास दिलाए ।

जनतामा असन्तुष्टि पैदा हुनु स्वभावि रहेको भन्दै उनले सरकारले पनि आफ्नो तर्फबाट सकेको काम गरिरहेको सुनाए । उनले सरकारको कामबाट के उद्योगी तथा व्यवसायीहरु खुशी छैनन् त ? भन्दै उल्टै प्रश्न गरे । सरकारले कोरोना महामारीको संकटको बावजुद बजेटपनि सन्तोषजनक ल्याएको उनले दाबी गरे ।

राज्यमान्त्री दुगडले बजेटमा विद्युतीय गाडीमा करको दायरा बढाएको विषय र चकलेटको विषयमा यो समसामियक भएन कि भनेर पनि गुनासो आएको उल्लेख गर्दै विद्युतीय गाडीको सवालमा विलाषीका गाडीमा मात्रै ट्याक्स बढाईएको स्पष्ट पारे । तर, यसमा पनि सरकारले संशोधन गर्नसक्ने उनले विश्वास दिलाए । नेपालमा विद्युत बढि हुने र बढि भएको बिजुली भारत, बंगलादेशलाई बिक्री गर्नुपर्ने बाध्यता सुनाउँदै यस्तो अवस्थामा नेपालले विद्युत खपतलाई बढाउनुपर्नेमा उनले जोड दिए ।

‘विद्युतीय सवारीमा लगाईएको कर संशोधन गर्न सकिन्छ । यो बजेट त यही आर्थिक वर्षको लागि हो नि, अर्को वर्ष पनि बजेट आउँछ । त्यतिवेलापनि एमेन्डमेन्ट गर्न सकिन्छ । कहाँ–कहाँ कमिकमजोरी छ, त्यो सरकारले सच्याउँछ ।’ उनले भने, ‘त्यसको लागि हामी अहिले छलफल र सरसल्लाह गरिरहेका छौं । सरकार रिजिड छैन् ।’ यसबारेमा आफूले पनि अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थसचिवसँग छलफल तथा कुराकानी गरिराखेको दुगडले जनाए ।

उनले कोरोना नियन्त्रण तथा रोकथामका लागि पनि सरकारले राम्रो काम गरेको जिकिर गरे । क्वारेन्टिनहरु भद्रगोल भएको भन्ने प्रश्नमा उनले ईतिहासमै नेपालले पहिलोपटक यस्तो महामारीको सामना गरेकोले अलि अलि व्यवस्थापनमा कमजोरी भएको स्विकारे । उनले सरकारले राम्रो काम गरेकै कारण कोरोनाबाट नेपालमा मानवीय क्षति कम भएको पनि दाबी गरे ।

एमसीसीजस्तो परियोजना नेपालको समृद्धिको लागि आवश्यक रहेको भन्दै उनले आवश्यक छलफलपश्चात केही कुरा संशोधन गरेर भएपनि पारित गरिने बताए ।