काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र केन्द्रीय निर्वाचानको तयारीका विषयमा छलफल गर्न यही भदौ २२ र २३ गते काठमाडौँमा क्षेत्रीय भेला गर्ने भएको छ ।


ADVERTISEMENT


तत्कालीन मध्यमाञ्चल क्षेत्रमा पर्ने गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष भ्रातृ संगठनका अध्यक्ष सहभागी हुने भेलामा प्रदेश तथा केन्द्रीय चुनावमा पार्टीले अधितम स्थानमा सफलता प्राप्त गर्न आवश्यक रणनीति तयार गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए।


ADVERTISEMENT

# # #


पार्टी विभाजनपछि संगठनको पुनःसंरचना तथा सुदृढीकरणका लागि निष्ठावान् नेतालाई आवश्यक जिम्मेवारी दिइने विषयमा छलफल केन्द्रित गरिने छ । विभिन्न तहका पार्टी नेताले मुलुकको समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे शीर्ष नेतृत्वबाट प्रशिक्षणसमेत दिइनेछ ।

उक्त भेलामा सहभागी हुने करिब ३०० प्रतिनिधिले त्यहाँ प्राप्त गर्ने प्रशिक्षणका आधारमा जनताको सेवालाई केन्द्रमा राखेर सम्बन्धित भूगोलमा गई संगठन सुदृढीकरण तथा चुनावी प्रचार प्रसार गर्नेछन् ।

यस किसिमको कार्यक्रम मध्यपश्चिमाञ्चलको नेपालगन्ज र सुदूर पश्चिमाञ्चलको महेन्द्रनगरमा सम्पन्न भइसकेको छ । पूर्वाञ्चलको झापामा यही भदौ २० र २१ तथा मध्यपश्चिमाञ्चलको पोखरामा यही भदौ २४ र २५ गते भेला गरिने छ ।