जाजरकोट – जाजरकोट छेडागाड नगरपालिका–१३ का सर्वसाधारण भेरी नदीको फोहर पानी पिउन बाध्य भएका छन् । पुर्खौँदेखि भेरी नदीको फोहर पानी आधा घण्टाको दूरीमा बोकेर ल्याई पिउनुपर्ने बाध्यतालाई कसैले बुझ्ने प्रयास गरेनन् ।


ADVERTISEMENT


सबै तहका नेता तथा जनप्रतिनिधिसँग पानीका लागि याचना गरेका खारावासी वर्षेनी १२ महिना भेरीको पानी पिउने बाध्यता हट्न नसकेको पदमा लुहार बताउँछिन् । उनी भन्छिन्, “भेरीबाट आधा घण्टा उकाली चढेर घरमा लिनेबितिकै पानी प्रयोग गर्न नमिल्ने भएकाले एक घण्टा नहल्लाइकन राख्दा बालुवा गाग्रीको तल थिग्रिएपछि मात्र पिउनयोग्य हुने गर्दछ ।”


ADVERTISEMENT

# # #


उनीजस्तै अर्की कमला लुहारको पीडा पनि कम्ती छैन । तीन महिनाको दूधे बच्चा छाडेर दैनिक तीनपटक भेरी नदीको फोहर पानी पिउनका लागि नदीको किनारमा पुग्नुपर्छ उनले भनिन्, “सङ्घसंस्थादेखि अन्य जनप्रतिनिधि हेरी गए पनि अहिलेसम्म पानी ल्याउने कुनै सुरसार छैन । पशुचौपायादेखि मानिस सबैले भेरी नदीको पानी पिउनुपर्ने बाध्यता छ ।”

भेरीको पानी नखाए तिर्खाले मरिने चिन्ता, खाए वर्षेनी फोहर पानीका कारण बिरामी हुनुपर्ने पीडा खारावासीको मुख्य समस्या रहेको छ । तीस घर दलित परिवार र अन्य केही जनजाति समुदायको बसोबास रहेको खारामा पीडा सुन्ने धेरै आए तर काम गर्ने कोही आएनन् भन्दै आक्रोशसमेत पोख्न थालिएको छ । अब कुराभन्दा परिणाम चाहिएको स्थानीय धनवीर लुहारले बताए।

छिन्चु–जाजरकोट सडकखण्डको बीच भाग छेडागाड नगरपालिका–१३ मा पर्दछ खारा । यही बाटो भएर सयौँ उच्चपदस्थ व्यक्ति आवातजावत हुँदा खारावासीले पानीको समस्या सुनाउने गरेका छन् । हुन्छ, सबैले भन्छन् तर काम कसैले गर्दैनन् खारावासीको गुनासो छ ।

आधा घण्टाको दूरीमा भेरी नदीमा पानी उर्लदो छ तर माथि रहेको जमिन हिउँद्याममा बाँझो रहन्छ, वर्षायाममा आकासेपानीको भरमा खेती गरिँदै आइएको छ । गाउँलेहरु भन्दा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पानीको ठूलो मारमा छन् । घरबाटै बोकेर ल्याएको पानी छिनभरमै सकिने भएकाले विद्यार्थी हैरान हुने शिक्षकहरुको भनाइ छ ।

फोहर पानी पिउँदा खारावासीमा वर्षेनी पानीजन्य रोग देखा पर्दै आएको छ । झाडापखाला, जुकालगायतका रोगबाट यहाँका सर्वसाधारण सधैँ पीडित हुने गरेका छन् । वडाध्यक्ष मोतीलाल खत्री सानोतिनो रकमले खानेपानी आयोजना निर्माण नहुने भएकाले डिपीआरको काम भएको र केही समयपछि पानीका लागि काम शुरु हुने बताए । “करोडभन्दा बढीको आयोजना सञ्चालन गरेमा मात्र यहाँ खानेपानी पुग्छ”, खत्रीले भने । रासस