आज अलमलिएँ थोरै
किन ढाँट्नु, पिएँ थोरै
च्यातिएको जिन्दगानी
बेहोसीले सिएँ थोरै ।


ADVERTISEMENT


राजनीतिमा केशव झा एक बौद्धिक, धैर्य र मिलनसार युवा नेताका रूपमा चिनिन्छन् । उनको परिचय यतिमै सीमित छैन । उनी गीतकार तथा गायक पनि हुन् । उनले मैथिली र नेपाली भाषामा गीत लेखेकारगाएका छन् ।


ADVERTISEMENT

# # #


२०६९ सालमा झाले सोलो गजल एल्बम ‘पिएँ थोरै’ सार्वजनिक गरेका थिए । यही एल्बममा रहेको सबैभन्दा बढी प्रशंसा बटुलेको गीतको केही लाइन माथि उल्लेख गरिएको हो ।

लेखेकामध्ये कतिपय सिर्जना तत्कालै बाहिर ल्याइन्छ, धेरैचाहिँ डायरीमै सीमित हुन्छन् । केशव झाले थोरै मात्र सिर्जना बाहिर ल्याए तर डायरी भने मैथिली र नेपाली गीतले भरिएको छ । २०६० सालसम्म उनले मैथिली भाषामा थुप्रै गीत लेखे । पछि लेखनमा भन्दा गायनमा उनी बढी सक्रिय भए ।

साङ्गीतिक यात्रा:

सप्तरीको तिलाठीमा जन्मिएका केशव बाल्यकालदेखि नै गीतरसङ्गीत भनेपछि हुरुक्कै हुन्थे । मैथिलीसँगै नेपाली शास्त्रीय सङ्गीत सुन्न र गुनगुनाउन मनपराउँथे । विद्यालयमा प्रत्येक शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा उनी गीत गाएर सुनाउँथे ।

सप्तरीबाट एसएलसी गरेपछि केशव २०५५ सालमा प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि दाङको घोराहीस्थित पद्मोदय उच्चमावि पुगे । सङ्गीतमा विशेष रुचि राख्ने केशव झाले त्यहाँ एउटा महत्त्वपूर्ण अवसर पाए । उनी गएकै वर्ष घोराहीमा पशुपतिनाथ सङ्गीतकला प्रतिष्ठानको स्थापना भयो । उनले अध्ययनसँगै सङ्गीत सिक्न थाले ।

एक त सानैदेखिको रुचि, त्यसमाथि दाङमा २ वर्ष अध्ययनका क्रममा गायनको प्राविधिक पक्षबारे पनि जान्ने अवसरले उनमा हौसला जगायो । त्यसपछि २०५७ सालमा उच्च शिक्षाका लागि काठमाडौं छिरे ।

पशुपतिनाथ सङ्गीतकला प्रतिष्ठानको केन्द्रीय कार्यालयमा उनले फेरि सङ्गीत पढ्न थाले । उनले यहाँबाट डिप्लोमा कोर्स पूरा गरे । यति मात्र कहाँ हो र १ प्रयाग सङ्गीत समिति अलाहावादको सम्बन्धन प्राप्त फ्रेन्ड्स कल्चरल सोसाइटी कुमारीगालमा त उनले औपचारिक परीक्षा नै दिएका थिए ।

‘२ वर्षसम्म मैले राजेशकमल क्षेत्री, सागर साइँलो र स्व। कमल क्षेत्रीसँग सङ्गीत सिकेँ । सङ्गीतमा उहाँहरू नै मेरा पथप्रदर्शक हुनुहुन्छ’, झा भन्छन् ।

गीति एल्बम:

माथि नै उल्लेख गरिसकिएको छ, केशव झाको औपचारिक गायन यात्रा २०६९ सालबाट सुरु भएको हो, जतिबेला उनले ६ वटा गीत समावेश ‘पिएँ थोरै’ नामक गीति एल्बम सार्वजनिक गरे । सुरेन्द्र श्रेष्ठको सङ्गीत तथा धीरेन्द्र प्रेमर्षी, ईश्वर दाहाल ‘सिन्धुले’ र रन्जित ज्ञवालीले रचेका गीतहरूमध्ये एउटामा केशवलाई गायिका सरिता शाहीले साथ दिएकी छन् । अन्य सबै गीत केशवको आवाजमा छन् ।

यिनै गीतमध्ये ‘आज अलमलिएँ थोरै’ गीतले निकै प्रशंसा बटुलेको थियो । एल्बममा समावेश अन्य गीत पनि उस्तै सुमधुर छन् ।

यीमध्ये ४ वटा गीतको भिडियो पनि बनाइएको छ, जसको निर्देशन विशाल बिष्टले गरेका हुन् ।

करिब ५ लाख रुपैयाँ खर्च गरेर एल्बम निकाले पनि उनले यसको ‘प्रोमोसन’ राम्रोसँग गर्न सकेनन् । प्रचारप्रसार गर्न नसक्दा उनको लगानी, मिहिनेत र लगावको प्रतिफल चित्तबुझ्दो आएन । एल्बम रिलिज गरेको एक वर्षपछि संविधानसभाको चुनाव हुँदै थियो । उनी राजनीतिमा समेत सक्रिय रहेकाले चुनावको तयारीमा होमिए । उनीसँग एल्बम प्रवर्द्धनका लागि टिम पनि थिएन ।

‘एल्बम रिलिज गरेर उपलब्धि नै भएन म भन्दिनँ’, उनी भन्छन्, ‘चल्यो कि चलेन भन्ने कुरा बिर्सने हो भने त्यो एल्बम मेरो गायकीको प्रमाण हो, दस्तावेज हो, त्यसलाई आमदर्शक तथा श्रोतामाझ ल्याउनु पनि मेरा लागि उपलब्धि नै हो ।’

केशवले मैथिली भाषाका ३ वटा एल्बमका लागि गीत गाएका छन् भने भोजपुरी गीतमा पनि उनको आवाज सुन्न सकिन्छ । ‘खेलाडी बल्मा’ भोजपुरी चलचित्रका लागि उनले गाएका छन् ।

माया, प्रेमसँगै उनले कैयौँ प्रगतिशील धारका गीतहरू पनि लेखेका छन् । ती गीत भने उनको डायरीमै थन्किएका छन् ।

प्रेरणा:

‘मैथिली समाजमा हरेक घटनाको गीत छ, जन्मदेखि मरणसम्मको’, उनी भन्छन्, ‘हाम्रो जीवनको कुनै एउटा घटना हुँदैन, जसको गीत नहोस् । बिहान ओछ्यानमा आँखा खोलेदेखि राती बिस्तरामा पल्टिने बेलासम्मका गीत हुन्छन् । मेरी आमा र हजुरआमा मैथिली भाषाका पारम्परिक लोकगीतहरू गुनगुनाउनुहुन्थ्यो । साँझ, बिहान म उहाँहरूलाई सुनेर रमाउँथे । लाग्थ्यो, एक दिन म वास्तवमै गायक बन्छु । मेरो प्रेरणाको स्रोत उहाँहरू नै हुनुहुन्छ ।’

शाखा अधिकृत बनोस् भन्ने चाहना

भलै, केशव झा अहिले राजनीतिमा छन्, गायक हुन् । तर, उनका अभिभावकले उनलाई अरू नै केही बनाउन चाहेका थिए । सके इन्जिनियर, नभए शाखा अधिकृतसम्म बनोस् भन्ने चाहना उनका बुबाआमाालाई थियो । तर, केशवलाई चाहिँ वैज्ञानिक बनेर अमेरिकाको नासामा काम गर्ने इच्छा थियो । त्यसैले उनले विज्ञान संकायमा अध्ययन गरे ।

उनी भौतिकशास्त्र ९फिजिक्स०मा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । पेसा जुनै अँगाले पनि गीत, सङ्गीतका लागि समय छुट्याउने उनको योजना थियो ।

सङ्गीतमा जीवनको आनन्द:

सङ्गीतलाई जीवनको आनन्द ठान्छन् उनी । ‘सङ्गीतको शास्त्रीय परिभाषा गीत, नृत्य र वाद्यको मिश्रण हो । तर, यसलाई महसुस गर्ने हो भने यसले अलौकिक आनन्द दिन्छ’, सङ्गीतबारे झा भन्छन्, ‘अध्यात्मिक रूपमा सङ्गीतले भौतिक सुख, सुविधाबाट मानवलाई माथि उठाउँछ । प्रकृतिको हरेक रचना सुन्दर लाग्न थाल्छ । रूखको पात हल्लिँदा, चराचुरुङ्गीहरू चिरबिराउँदा, हावाको वेगबाट, झरनाको झरझरबाट, बगिरहेको खेलाबाट निस्कने आवाजमा पनि सङ्गीतको अनुभूति हुन थाल्छ ।’

ऋतिक रोशन काण्डपछि राजनीतिमा:

२०५७ सालमा भारतीय अभिनेता ऋतिक रोशनले ‘नेपालीहरू मनपर्दैन’ भन्ने अभिव्यक्ति दिए । त्यसपछि नेपालमा ठूलो दंगा भयो । त्यस क्रममा मधेसी मूलका मानिसहरूलाई निशाना बनाइयो । उक्त प्रकरणपछि केशव झाभित्र राष्ट्रियता, पहिचान र अधिकारका लागि लड्नुपर्छ भन्ने चेत पैदा भयो र विद्यार्थी राजीनीतिमा होमिए ।

‘त्यस घटनामा मलाई पनि हेपियो, म नेपाली नै होइन रहेछु जस्तो भान भयो । त्यसपछि म आफ्नो अधिकार खोज्दै राजनीतिमा होमिन बाध्य भएँ ।’

सङ्गीतको साथ पाए विरोध पनि लोकप्रिय:

भनिन्छ, १० भाषण दिनुपर्ने ठाउँमा एउटा गीत प्रस्तुत गरियो भने त्यसले बढी काम गर्छ । गीतबाट भावना र सन्देश अझ प्रभावकारी रूपमा प्रवाह गर्न मद्दत मिल्छ ।

गीतमा मनोरञ्जन मात्र हुँदैन, परिस्थितिमा उलटपुलट ल्याउन सक्ने अद्भूत सामर्थ्य पनि हुन्छ । १२ वर्षसम्म चलेको माओवादी ‘सशस्त्र विद्रोह’को सार्थकतामा पनि गीत, सङ्गीतको निकै महत्त्वपूर्ण भूमिका थियो ।

गीतमा ‘रक्तिम क्रान्ति’, ‘राता मान्छे’, ‘बलिदानी’ जस्ता शब्द प्रयोग गरी तत्कालीन विद्रोही नेकपा माओवादीले राज्यसत्ताविरुद्ध आमनागरिकको रगत उमालेको थियो । उसो त पञ्चायतकालमै रामेश, रायनहरूले गाएको गीत ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ त हरेक नेपालीले विद्रोह, सङ्घर्ष र राजनीतिक परिवर्तनका बेला आजपर्यन्त गाउँदै आएकै छन् ।

नयाँ संविधानमा मधेस र मधेसीका लागि पर्याप्त अधिकार नसमेटिएको भन्दै आन्दोलनमा उत्रिएको तत्कालीन २९ दलीय संघीय गठबन्धनले पनि विरोधका स्वर एकट्ठा गर्न गीतको सहारा लिएको थियो । गीतमार्फत् जनमनमा विद्रोह भर्न र माहोल तताउन सकिने निष्कर्ष निकालेर तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले केही गीत लेखे । उनले लेखेकामध्ये एउटा गीत चर्चित मात्र बनेन, मधेस आन्दोलनमा जनसहभागिता बढाउन उक्त गीतले ठूलै मद्दत पनि गर्‍यो ।

तिमी लड या नलड, म त लडिरहन्छु
तिमी हिँड या नहिँड, म त हिँडिरहन्छु
देशलाई तोड्ने मान्छे बढ्यो, देशलाई फोड्ने मान्छे बढ्यो ।

अनशन, भाषण, नाराबाजी गर्दागर्दा थाकेका नेता, कार्यकर्तामा यस गीतले ऊर्जा भर्थ्यो । आन्दोलनताका काठमाडौंको खुलामञ्चमा पटकपटक केशव झाले यो गीत गाएर नेता, कार्यकर्तालाई हौस्याउँथे । तत्कालीन संघीय गठबन्धनले एक जुझारु युवा नेतासँगै एक सिपालु गायक पनि पाएको थियो । पहिल्यैदेखि गीत लेखन र गायनमा सक्रिय रहेका कारण केशवले आन्दोलनलाई गीतमय पार्न सकेका थिए ।

‘राजनीतिमा त गीत, सङ्गीतको झन् धेरै महत्त्व हुन्छ’, केशव भन्छन्, ‘सङ्गीत र विरोधलाई एक ठाउँ राखेर हेरियो भने यसको महत्त्व थप प्रष्ट हुन्छ । सङ्गीतको साथ भयो भने विरोध पनि लोकप्रिय लाग्न थाल्छ ।’

‘राजनीतिले मान्छेलाई हरेक प्रकारको तनाव दिइरहेको हुन्छ । अर्थात् विभिन्न खाले दबाब हुन्छन् मानिसमा । मन, चित्त सधैँ अशान्त रहने अवस्था हुन्छ तर सङ्गीतले मनलाई शान्ति मात्र दिइरहेको हुन्छ । आनन्दको अनुभूति हुन्छ’, उनी भन्छन् ।

मन पर्ने विधा:

खासगरी शास्त्रीय सङ्गीत, भजन, आधुनिक गीत, गजल मनपराउने उनी ठुमरी, ध्रुपद, सुफीलगायत अन्य भाषाका लोक गीतहरू पनि सुन्न रुचाउँछन् ।

मनपर्ने गायक, सङ्गीतकार:

नातीकाजी, रन्जित गजमेर, दीपक जंगम, आलोक श्री, शम्भुजीत बाँस्कोटा केशव झाका मनपर्ने सङ्गीतकार हुन् । उनलाई असाध्यै मनपर्ने गायक, गायिकाहरूमा नारायण गोपाल, भक्तराज आचार्य, उदितनारायण, दीपा झा, तारादेवी, कुन्ती मोक्तान, अन्जु पन्त, उदय सोताङ, मनिला सोताङ, राजेशपायल राई, कुमार बस्नेत, दीपक लिम्बू, सविन राई, प्रमोद खरेललगायत हुन् ।

तालमेल मिलाउन खोज्दै छु:

अहिले संसदको तेस्रो ठूलो शक्ति जनता समाजवादी पार्टी (जसपा नेपाल)को ५१ सदस्यीय कार्यकारिणी समिति ९पदाधिकारी०का सदस्य हुन् उनी । निर्वाचन आयोगले २६ असारमा जसपालाई दर्ता गर्ने निर्णय गरिसकेको छ । संघीय समाजवादी पार्टीसँग एकता गर्नुअघि उनी राष्ट्रिय जनता पार्टी ९राजपा नेपाल०का महासचिव थिए ।

नेपालको अस्थिर राजनीति, अदलबदल भइरहने परिस्थिति, पार्टीभित्रको विवाद, गुट, फुट, जुट जस्ता कुराले केशव झा व्यस्त हुन्छन् । एक अर्थमा उनको गायकी राजनीतिले च्यापिदिएको छ । अर्थात्, राजनीतिका कारण उनले गायनलाई पर्याप्त समय दिन सकिरहेका छैनन् ।

यद्यपि, आगामी दिनमा राजनीति र साङ्गीतिक क्षेत्रका लागि समय छुट्याएर काम गर्ने उनको योजना छ । ‘राजनीति र सङ्गीतको तालमेल मिलाउन सकिरहेको छैन’, उनी भन्छन्, ‘सङ्गीत साधना हो, जसलाई पर्याप्त समय दिनुपर्छ । आगामी दिनमा समय मिलाएर अघि बढ्ने योजनामा छु ।’

कम नेतालाई मात्र थाहा छ उनको भिन्न प्रतिभा:

यसअघि आधा दर्जनभन्दा बढी पार्टी मिलेर बनेको थियो राजपा । उसैगरी अन्य पार्टीसँग एकता गरी बनेको संघीय समाजवादीसँग अहिले राजपा मिलेर जनता समाजवादी पार्टी बनेको छ । नेपाली राजनीतिमा गुट चलाउने प्रवृत्ति ‘प्रथा’का रूपमा विकास भएको पाइन्छ । यस्तो गुटले पार्टीलाई फुटको सङ्घारमा पुर्‍याउने गरेको छ । पार्टी एकता सृदृढ पार्दै राजनीतिमा युवाहरूको उपस्थिति बढाउन सक्रिय छन् केशव झा ।

धेरै दल मिलेर बनेको जनता समाजवादी पार्टीमा निकै कम नेताले केशव झालाई गायकका रूपमा चिन्छन् । ‘तर, जतिले मलाई गायकका रूपमा चिन्नुहुन्छ, राम्रो मान्नुहुन्छ’, झा भन्छन् ।
साभार : शिलापत्र डट कम