काठमाडौं – नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी गरेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लबमा बोल्दै प्रवक्ता भट्टले अहिलेसम्म सबै क्षेत्रका विज्ञहरुको सुझाव लिने काम भैसकेको जनाए । उनले भने, ‘सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्नेगरि नै मौद्रिक नीति आउँछ, यसले सबै क्षेत्रको सुझावहरु समेट्ने कोसिस गरेको छ ।’


ADVERTISEMENT

# # #


कोभिड–१९ कारण आर्थिक वृद्धिदरको गतिमा ब्रेक लागेको र आपूर्ति श्रृंखलासमेत अवरुद्ध भैरहेको परिस्थिति सुनाउँदै उनले अब आउने मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने विश्वास दिलाए । उनले भने,‘मौद्रिक नीतिमा आर्थिक पूनरुत्थानमै जोड छ । अधिकतम लचिलो नीति ल्याउनेगरि हामी छलफलमा छौं ।’

मौद्रिक नीतिले कोभिडबाट प्रभावित क्षेत्रलाई चाँडो सञ्चालन गर्न मद्दत पुर्याउने, वित्तिय साधनलाई प्राथमिकीकरण गर्ने, डिजिटलाईजेशनमा जोड दिईने, संस्थागत सुशासनमा जोड दिईने उनले सुनाए । अहिलेको आर्थिक संकटबाट बचाउनको लागि मौद्रिक नीतिले आधार दिने उनको भनाई छ । बैंकहरुको कर्जा प्रवाह हुन नसकेका कारण बजारमा तरलता अधिक रहेको साथै बजेटमै व्यवस्था गरिएको पुनर्कर्जा कोषको सही परिचालन र आर्थिक पुनरुत्थानका लागि पनि मौद्रिक नीतिकेन्द्रित हुने उनले स्पष्ट पारे ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेटजत्तिकै महत्वपूर्ण भएकोले सबैको यसमा चासो रहेकोले सबै क्षेत्रलाई राहत मिल्नेगरि मौद्रिक नीति आउनुपर्नेमा जोड दिए । उनले मुलुकको अर्थतन्त्र उकास्न र नीजि क्षेत्रलाई समेत माथि उकास्नका लागि मौद्रिक नीति व्यवहारिक आउनेमा आफू आशावादी रहेको बताए ।

नेपाल बैंकर्स एशोसिएनका पूर्व अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सिईओ ज्ञानेन्द्र ढुंगानाले यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भएपनि केही राहत आएको तर जनताका अपेक्षा पूरा नभएको स्पष्ट पारे । अहिले सम्पूर्ण क्षेत्रको ध्यान नेपाल राष्ट्र बैंकतर्फ रहेको उनले सुनाए । उनले भने,‘ म यो मौद्रिक नीतिमा धेरै अपेक्षा राख्दिन् । यसले कोभिड–१९ र बाढी, पहिरोले पारेको समस्यालाई पक्कै सम्बोधन गर्नेछ ।’ बैंकको ब्याजदर कम गर्नलाई आफूहरु प्रयासरत रहेको पनि उनको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेकोले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति विगतभन्दा फरक आउनुपर्नेमा जोड दिए । उनले नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्नेमा जोड दिए । वरिष्ठ उपाध्यक्ष मल्लले १५० अर्बको ‘स्टिमुलस प्याकेज’ लागु हुनुपर्ने पनि बताए ।