काठमाडौँ – नेपाल टेलिकमले आफ्ना संरचनाहरु परिवर्तन गर्दै मुलुकको संघीय संरचना अनुसार रुपान्तरण गर्ने कार्य सुरु गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय बमोजिम कामकाज गर्न सहज हुनेगरी सातवटै प्रदेशमा प्रादेशिक निर्देशनालयहरु स्थापना गरिरहेको छ ।


ADVERTISEMENT


यही बमोजिम कम्पनीले आइतबार साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचना अनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त निर्देशनालयको नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले शुभारम्भ गरेका छन् । उक्त अवसरमा निर्देशक मालाकारले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई गण्डकी प्रदेशसँग सम्बन्धित विकास निर्माण, योजना र प्रशासनिक दस्तावेजहरु हस्तान्तरण गरेका थिए ।

पोखरामा आयोजित उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पठाएको शुभकामना सन्देश बाचन गरिएको थियो । शुभकामना सन्देशमार्फत प्रबन्ध निर्देशक अधिकारीले एफटिटिएच वितरणको मूल लक्ष्यलाई आत्मसात गरी आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुन निर्देशन दिएका थिए । यसका साथै कार्यसम्पादनमा आधारित प्रोत्साहन व्यवस्था लागु भइसकेकोले आफू कार्यरत सम्बन्धित प्रदेश प्रमुख तथा समस्त कर्मचारीहरुको संयुक्त प्रयासबाट प्रदेशलाई दूरसञ्चार सेवा विस्तार, सुदृढीकरण र ग्राहक सेवामा अब्बल सावित गर्नुहुने विश्वास लिएको उल्लेख गरेका थिए ।