महेन्द्रनगर –  सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनामा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका घटना बढेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “विष सेवन र झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क हेर्दा गत चैतदेखि असारसम्म अरु बेलाको भन्दा वृद्धि भएको देखिन्छ ।” उनले भने, “वैशाख र जेठ महिनामा गरी आत्महत्या दुरुत्साहनमा दुई वटा मुद्दासमेत दर्ता भएका छन् ।”


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार विष सेवन गरेर गत चैत महिनादेखि ३२ जनाले आत्महत्या गरेका छन् भने सोही अवधिमा झुण्डिएर ४० जनाले आत्महत्या गरेका छन् । “लकडाउनमा बेरोजगारी, विपन्न समुदायका जीविका चलाउनेदेखि विविधखाले समस्याले पनि हिंसाका घटना बढेको देखिन्छ ।” उनले भने, “लकडाउन अवधिमा हुने अपराध नियन्त्रणमा प्रहरी पनि सोहीअनुसार योजना बनाएर अघि बढेको छ ।” लकडाउन अवधिमै आत्महत्या दुरुत्साहन मुद्दामा एक जना पूर्पक्षका लागि कारागार चलान हुनुका साथै एक जना तारेखमा छुटेका छन् ।

“लकडाउनमा यहाँ आत्महत्या दुरुत्साहनमा दुई वटा मुद्दा दर्ता गरेर कारवाही अघि बढेको थियो,” प्रहरी प्रवक्ता थापाले भने । विगतमा पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना बढी नै रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । रासस