काठमाडौँ – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबिना नै बसेको सत्तारुढ दल नेपाल कमुनिस्ट पार्टी (नेकपा)को बैठक सम्पन्न भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकको अध्यक्षता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।


ADVERTISEMENT


बैठकले पार्टीका अर्का अध्यक्ष ओलीले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निष्कर्ष निकालेको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि नेकपा स्थायी समितिको बैठक आज दिउँसो ११ बजे बस्ने भनिएको थियो । तर, उक्त बैठक स्थगित भएको सूचना बाहिरिएको थियो ।


ADVERTISEMENT

# # #


उक्त सूचना आधिकारिक नभएको भन्दै प्रचण्डसहितको नेताहरुले ओलीको उपस्थिति बिनै एकलौटी बैठक सञ्चालन गरेका थिए । बैठकले विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न समेत आव्हान गरेको छ ।

आजको बैठकको मिति र समय यसअघि बसेको स्थायी समिति बैठकले नै निर्णय गरेको थियो । बैठकमा २९ जना स्थायी समिति सदस्यहरु र २ जना आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।