काठमाडौँ– जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।


ADVERTISEMENT


आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।


ADVERTISEMENT

# # #


आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एक जना आउट हुने जानकारी गरायो । आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ ।

साथै त्यसबेलासम्म (१५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको) भोट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

आदेशमा भनिएको छ, ‘सो विषय वादी र प्रतिवादीबीचको छलफल सुनी टुंग्याउन उपयुक्त देखिँदा छलफलका लागि भदौ २३ गते १० बजे सक्कल फाइल तथा विवरण लिइ यस अदालतमा उपस्थित हुनु भनि विपक्षीहरुलाई सूचना पठाउने ।’

 

रियालिटी शो नेपाल आइडलले भने कोही पनि नबाहिरिने पूर्व निर्धारित कार्यक्रम नै भएको दाबी गरेको छ ।