काठमाडौं – नेपाल आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कुल १ सय अंकभारको कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट ९२ नतिजा प्राप्त गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल संयोजकत्वको कार्यसम्पादन मूल्यांकन समितिले उनको एक वर्षको कार्य प्रगति अध्ययन गरी ९२ अंक दिएको हो ।


ADVERTISEMENT


डेढ वर्षअघि खुला प्रतिस्पर्धाबाट नियुक्त भएर आयल निगम हाँकिरहेका पौडेलले सुरुदेखि नै सुधारका योजनाहरु लागू गरिरहेका छन् । उनले पाइपलाइन विस्तार, भण्डारण गृह निर्माण, निगमकै स्वामित्वमा ग्यासको बोटलिङ प्लान्ट, नयाँ रिफ्युलटर जडानलगायत काम अगाडि बढाएका छन् । यसअघि पौडेलले उदयपुर सिमेन्ट उद्योेगलाई पनि नाफामा सञ्चालन गरेर कुशल प्रशासकको छवि बनाईसकेका छन् ।


ADVERTISEMENT

# # #


यी हुन् कार्यकारी निर्देशक पौडेलले निगममा गरेका चमत्कारिक कामहरु

आयल निगमको सञ्चालक समितिको दह्रो साथ पाएका पौडेलले मुख्यतया चार परियोजनालाई अघि बढाएका छन् । नीति तथा कार्यक्रम र बजेटले समेत सधैँ प्राथमिकतामा राख्दै आएको आमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन, भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण र झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने परियोजनालाई निगमले अघि बढाएको छ ।

मोतीहारीदेखि अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई लोथरसम्म विस्तार गर्न पाइप कहाँबाट कसरी बिछ्याउने भन्ने सर्भे सकिएको छ । अहिले जग्गाको लेआउट, माटोको परीक्षणलगायतका काम हुँदै छन् । यो परियोजना आउँदो मंसिरबाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । गत २४ भदौदेखि सञ्चालनमा आएको मोतीहारी–अमलेखगञ्जमा पाइपलाइनबाट अहिले डिजेल मात्र आयात भइरहेको छ । तर, लोथरसम्म निर्माण सम्पन्न भएपछि एउटै पाइपबाट पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात हुनेछ ।

भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन परियोजनाको प्रारम्भिक लागत अनुमान निकालिएको छ र अन्य विषयको प्रारम्भिक अध्ययन अन्तिम चरणमा पुगेको छ । त्यहाँ निगमले जग्गा पहिले नै किनिसकेकाले माटोको परीक्षण, जग्गाको लेआउटलगायतका विषयमा अध्ययन गर्ने सर्भे टोली खटिएको छ ।

चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृहको निर्माणका लागि चितवनमा सर्भे सकिएको छ । त्यहाँ २३ बिघा १२ कट्ठा जग्गा किनिएको छ भने झापाको सर्भे अन्तिम चरणमा छ । त्यहाँ २४ बिघा जग्गा किनिएको छ । चितवनमा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । यहाँ ग्यासबाहेक सबै पेट्रोलियम पदार्थ भण्डारण गृह बन्नेछ । देशको मध्यभागमा रहेकाले सबैभन्दा ठूलो भण्डारण गृह निर्माण गर्ने योजना छ । आगामी मंसिरबाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ ।

झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने विषयमा दुवै ठाउँमा तीन–तीन हजार हजार मेट्रिक टनको ग्यास भण्डारण गृह निर्माण गरिनेछ । बोलपत्रमार्फत अन्तर्राष्ट्रियस्तरका दुईवटा परामर्शदाता छनोट भइसकेका छन् र उनीहरूसँग आर्थिक प्रस्ताव मागिएको छ । यहाँ भण्डारण भएको ग्यास सबै उद्योगीलाई वितरण गरिनेछ । दुवै ठाउँमा निगमले आफ्नै बोटलिङ प्लान्टसमेत राखेर पहिलोपटक आयल निगमको ब्रान्डमा ग्यास सिलिन्डर बजारमा ल्याउनेछ ।