काठमाडौँ – नेपालमा लकडाउन खुकुलो भएपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमितको दर बढेको पाइएको छ । शनिबार पछिल्लो २४ घण्टाको कोरोना अपडेट सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


प्रवक्ता डा. गौतमका अनुसार लकडाउन खुकुलो हुनुभन्दा अघिका ११ दिनको तुलनामा लकडाउन खुकुलो भइसकेपछिका ११ दिनमा कारोना संक्रमितको दर ०.८ प्रतिशतले बढेको हो । सरकारले करिब ४ महिना लामो लकडाउनलाई गत साउन ६ गतेदेखि खुकुलो गरेको थियो ।


ADVERTISEMENT

# # #


लकडाउनअघि

लकडाउन खुकुलो हुनुभन्दा अगाडिको ११ दिन (साउन ६ अघि)मा जम्मा ४७ हजार ८७७ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १ हजार ३४५ जना कोरोना संक्रमित भेटिएका थिए । त्यो कूल परीक्षण गरिएको संख्याको २.८ प्रतिशत थियो ।

लकडाउनपछि

यस्तै लकडाउन खुकुलो भइसकेपछिको ११ दिन (साउन ७ देखि १७ गतेसम्म) जम्मा ५८ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको थियो । यो अवधिमा पहिलेको भन्दा करिब ११ हजारले पीसीआर दर पनि बढेको छ ।

परीक्षण गरिएका ५८ हजार बढीमध्येबाट २ हजार ९२ जना पोजेटिभ पाइएका छन् । यो कूल परीक्षणको ३.६ प्रतिशत हो । यसरी लकडाउन खुलेपछि संक्रमितहरुको संख्या ०.८ प्रतिशतले बढेको डा. गौतमले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । आज मात्रै १३५ जना संक्रमित थपिएका छन् ।

संक्रमितको दर बढेपनि सर्वसाधारण हेलचक्राईं गर्दै जथाभावी बाहिर निस्कन थालेको, मास्कको उचित प्रयोग नगरेको, सभासम्मेलन आयोजना गरेको भन्दै स्वास्थ्य मन्त्रालयले गम्भीर चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन, मास्कको अनिवार्य प्रयोग गर्न, भीडभाड हुने ठाउँमा नजान, २ मिटरको भौतिक दूरी कायम गर्न र पटक पटक साबुन पानीले हात धुन समेत सचेत गराएको छ ।