रमेश लम्साल, काठमाडौँ –  आर्थिक वर्ष ०७६/७७ मा देशभरका कूल ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको मिहिनेतका कारण ग्रामीण क्षेत्रमा समेत विद्युत् पुगेको हो ।


ADVERTISEMENT


सो आवमा कूल १४९ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । योसँगै नेपालको कूल जलविद्युत् जडित क्षमता एक हजार ३९९ मेगावाट पुगेको छ । सरकारले कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीसहित केही ठूला आयोजनाको निर्माण गत आवमै सक्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन ।


ADVERTISEMENT

# # #


गत आवमा प्रतिव्यक्ति विद्युत् खपत बढेर २६० किलोवाट घण्टा पुगेको छ । यस्तै सो वर्ष थप तीन लाख ३४ हजार घरधुरीमा विद्युत् पहुँच विस्तार भएको छ । योसँगै नेपालमा विद्युत् पहुँच प्राप्त घरधुरी सङ्ख्या ५० लाख १० हजार पुगेको छ । मन्त्रालयले थप २८५ सर्किट किलोमिटर नयाँ प्रसारण लाइन निर्माणको काम सम्पन्न गरेको छ ।

थपिएको सहित प्रसारण लाइनको लम्बाइ देशभर कूल चार हजार २५१ सर्किट किलोमिटर पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थप ५० किलोवाट सौर्य तथा वायु ऊर्जा थप भई कूल ८६६ किलोवाट पुगेको छ । यस्तै वर्षभरिमा थप ५२ वटा थप भई संस्थागत तथा सामुदायिक बायोग्यासको सङ्ख्या ४१९ पुगेको छ ।

राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् पहुँच प्राप्त जनसङ्ख्यामा तीन प्रतिशतको वृद्धि भई ९० प्रतिशत पुगेको छ । यस्तै, विद्युत् वितरणका लागि २९० वटा नयाँ सब–स्टेसन निर्माण भएका छन् । विद्युत् चुहावटमा पनि उल्लेख्य प्रगति भएको छ । गत आवमा विद्युत् चुहावट १५.२७ प्रतिशतमा सीमित भएको छ । देशभरका १६ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ ।

बेरुजु फछ्र्यौटमा अब्बल

आव ०७६/७७ मा ऊर्जातर्फ ९९.९९ र जलस्रोत तथा सिँचाइ मन्त्रालयतर्फ ९५.५९ प्रतिशत बेरुजु फछ्र्यौट भएको छ । ऊर्जातर्फ रु एक अर्ब ३९ करोड ८२ लाख आठ हजार ५२० बेरुजु रहेकामा एक अर्ब ३९ करोड ८० लाख सात हजार ४७० बराबरको बेरुजु फछ्र्यौट भएको छ ।

यस्तै जलस्रोत तथा सिँचाइतर्फ रु ९९ लाख ६६ हजार ३७० बेरुजु रहेकामा ९५ लाख २७ हजार ३०० बराबरकोे बेरुजु फछ्र्यौट भएको छ । यो दुवै मन्त्रालयअन्तर्गतका विभागीय संरचना बाहेकको तथ्याङ्क भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयको तेस्रो चौमासिक एवं वार्षिक समीक्षा तथा मन्त्रालयतस्तरीय विकास समस्या समाधान समिति बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

यस्तो छ, वार्षिक प्रगति

ऊर्जा मन्त्रालयको तेस्रो चौमासिकमा वित्तीय प्रगति ७३.२६ र भौतिक प्रगति ७५.३ प्रतिशत रहेको छ । यस्तै जलस्रोत तथा सिँचाइतर्फ सोही अवधिमा भौतिक प्रगति ७१.७९ र वित्तीय प्रगति ७१.६७ प्रतिशत भएको छ । गत आव ऊर्जातर्फको कूल बजेट रु ७५ अर्ब ५३ करोड ४० लाख थियो । जसमध्ये रु ४६ अर्ब ३९ करोड ५२ लाख खर्च भएको छ । जलस्रोत तथा सिँचाइतर्फ रु २४ अर्ब ७८ करोड ७५ लाख बजेटमा रु १४ अर्ब पाँच करोड ४० लाख खर्च भएको छ । यसरी हेर्दा ऊर्जातर्फ वार्षिक प्रगति ६१.४२ र भौतिकतर्फ ७८.३६ प्रतिशत प्रगति देखिएको छ । जलस्रोत तथा सिँचाइतर्फ वार्षिक प्रगति वित्तीयतर्फ ५६.७० र भौतिकतर्फ ७२. ३० प्रतिशत प्रगति रहेको छ ।

मन्त्रालयका अनुसार भौतिक प्रगति ८० प्रतिशत गर्ने आयोजनाको सङ्ख्या आठ र ५० प्रतिशतभन्दा बढी प्रगति गर्ने आयोजनाको सङ्ख्या ११ छन् । यस्तै जलस्रोत तथा सिँचाइतर्फ भौतिक प्रगति ८० प्रतिशत गर्ने आयोजना सङ्ख्या १६ र ५० प्रतिशत प्रगति गर्ने आयोजनाको सङ्ख्या १३ छ । कूल ३३ मध्ये चारवटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम छ ।

सरकारका २३ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय एक्लैको आठ गौरवका आयोजना छन् । विद्युततर्फ ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा ९९.७३ प्रतिशत भौतिक र ९८. ६८ प्रतिशत वित्तीय प्रगति भएको छ ।

गत आवमा उक्त आयोजनाका लागि रु एक अर्ब बजेट विनियोजन गरिएकामा शत्प्रतिशत खर्च भएको छ । यस्तै बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १५३ रोपनी क्षेत्रफलमध्ये ४७ हजार ४३९ रोपनीको मुआब्जा वितरण भएको छ । मुआब्जाका लागि रु ३३ अर्ब ८० करोड वितरण भएको छ ।

यस्तै सुनकोशी–मरिन डाइभर्सन आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइसकेको छ । विद्युत्गृहसहित संरचना निर्माणका लागि आवश्यक संरचना निर्माणका लागि जग्गा प्राप्तिको काम सकिएको छ ।

थप साढे पाँच हजार हेक्टरमा सिँचाइ

सो आवमा थप पाँच हजार ५५९ हेक्टरमा सतह सिँचाइमार्फत सिँचाइ सुविधा पुगेको छ । योसँगै सतह सिँचाइ हुने कूल जमीनको क्षेत्रफल नौ लाख ९६ हजार ९१७ हेक्टर पुगेको छ । यस्तै विभिन्न ठूला नदीमा ९१ किलोमिटर तटबन्ध निर्माण भएको छ । बाढीका कारण बगरमा परिणत भएको ४०९ हेक्टर जमीन जग्गा उकास गरी खेतीयोग्य बनाइएको छ ।

मन्त्रालयको प्रगति उत्कृष्ट : मन्त्री पुन

ऊर्जामन्त्री वर्षमान पुन कोभिड–१९ को महामारीमा समेत मन्त्रालयले उत्कृष्ट काम गरेको भन्दै मातहतका सबै निकायमा कार्यरत कर्मचारीलाई धन्यवाद दिन्छन् । महामारीमा समेत ठूला जलविद्युत् र सिँचाइ आयोजनाका काम नरोकिएको भन्दै उनले त्यसका लागि कर्मचारी, मजदुर तथा निर्माण व्यवसायीप्रति आभार प्रकट गरे ।

उहाँले काममा आइपर्ने कानूनी तथा प्रक्रियागत समस्याबारे आफूलाई समयमै जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिइएको जानकारी दिए । ऊर्जा सचिव दिनेशकुमार घिमिरे र जलस्रोत तथा सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठले कोभिड–१९ महामारीको समयमा समेत राम्रो काम गर्न सकिएको भन्दै सन्तोष व्यक्त गरेका छन् । रासस