काठमाडौँ – साहित्यकार एवं रेडियो प्रस्तोता दिवङ्गत दाहाल यज्ञनिधिलाई साहित्यिक र सांस्कृतिक रुपान्तरणका अगुवाका रूपमा स्मरण गरिएको छ । दाहालको दोस्रो वार्षिक स्मृतिका अवसरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले आज भर्चुअलरूपमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा उनले विभिन्न विधामा साहित्यिक रचना, गणतान्त्रिक आन्दोलनमा सहभागिता र युवापुस्तालाई प्रोत्साहन गरेर योगदान गरेको जनाइएको हो ।


ADVERTISEMENT


समालोचक रमेश शुभेच्छुले कुनै विश्वविद्यालका प्राध्यापक वा समालोचकले साहित्यलाई गरेसरह यज्ञनिधिको साहित्यिक योगदान रहेको बताउँदै गणतान्त्रिक विचारका अगुवाका रूपमा उनलाई सम्झिए । शुभेच्छुले दाहालका प्रकाशोन्मुख कृति र उनीमाथिका संस्मरण समेटेर ग्रन्थ प्रकाशन गरिने जनाए ।


ADVERTISEMENT

# # #


रेडियो कार्यक्रममा दाहालसँग काम गरेकी निलम कार्मी ‘निहारिका’ ले आफूलाई साहित्यिक क्षेत्रमा अगाडि बढ्न दाहालको भूमिका रहेको जनाउँदै आफ्नो ‘योगमाया’ उपन्यास पनि उनकै प्रेरणा भएको उल्लेख गरे ।

दाहालकी धर्मपत्नी सुधा दाहालले नयाँपुस्तालाई दाहालले जहिल्यै प्रोत्साहन दिने गर्थे भन्दै उनका नाममा कुनै अक्षयकोष खडा गरेर सामाजिक काम गर्ने सोच रहेको बताए । कवि भारद्वाज मित्रले व्यथित सिन्धु प्रतिष्ठानबाट सिन्धुपाल्चोकको कार्यक्रममा दाहाल यज्ञनिधिलाई नागरिक अभिनन्दन गरिएको स्मरण गरे । प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले दाहालले लोकतान्त्रिक आन्दोलनताका साहित्यिक गतिविधि र सांस्कृतिक रुपान्तरणका काममा सूत्रधारको काम गरेको बताए ।

खोटाङको धारापानीमा विसं २०१० साल साउन ८ मा जन्मिएका दाहालको २०७५ साउन २५ मा निधन भएको थियो । पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रमबाट लोकप्रिय उनको विसं २०५७ फागुन १० मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । दरबार हाइस्कूलका पूर्वशिक्षक उहाँका गीत, निबन्ध, कविता, समालोचना आदि विधामा पुस्तक तथा रचना प्रकाशित छन् । रासस