काठमाडौँ – टाटा मोटर्सका व्यावसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले गाडी खरिदका लागि अनलाईन सुविधा दिने भएको छ ।


ADVERTISEMENT


कम्पनीलेले कोरोना भाइरसका कारण विशेष सावधानी अपनाउनु पर्ने भएकाले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सुविधाको शुभारम्भ गरेको हो । यससँगै अब उपभोक्ताले टाटाका व्यावसायिक गाडीहरु सजिलै अनलाइनबाटै खरिद गर्न सक्नेछन् । कम्पनीले www.shasheelamotors.com मार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको हो । यसअघि केही कम्पनीहरुले निजी कार अनलाइनबाट खरिद विक्री गर्ने गरेको भए पनि व्यावसायिक गाडीहरुमा यस्तो सुविधा थिएन ।


ADVERTISEMENT

# # #


वेबसाइट शुभारम्भ गर्दै सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिद विक्री गर्न यो भर्चुअल शोरूम नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने बताए । यस्तै शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै यो सेवालाई थप परिमार्जित गर्दै लैजाने बताए । अबको बजार भनेको डिजिटल मार्केट नै भएकाले यसलाई ब्यापक र सर्वसुलभ बनाउँदै लैजानुको विकल्प नभएको उनको भनाइ छ ।

वेबसाइट भित्रको भर्चुअल स्वरुम मार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुन सुकै मोडलका नयाँ, पुराना गाडी सजिलै छान्न सक्नेछन् । यो सेवा अन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ ब्यवसायिक गाडीहरु अनलाइनमै वुकिङ गरि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधा वाहेक पुराना गाडी समेत खरिद विक्री गर्न पाउनेछन् ।

आफूसंग भएका पुराना व्यावसायिक गाडी विक्री गर्न चाहने विक्रेताले गाडीबारे विस्तृत विवरण र फोटो सजिलै वेब साइटमा अपलोड गर्न सक्नेछन् । शशिला मोटर्सले आफ्नो सम्पर्कमा रहेका पुराना गाडी किन्न चाहने उपभोक्ता र बेच्न चाहने विक्रेताविच समन्वय गरिदिनेछ भने आफैंले पनि पुराना गाडी किन्नेछ । क्रेताले विक्रेतासंग भएको गाडी प्रत्यक्ष हेर्न चाहेको अवस्थामा समेत कम्पनीले त्यसको व्यवस्था मिलाइदिनेछ । जसले गर्दा पुराना गाडी किन्न वा बेच्न चाहनेले अन्यत्र कतै भौंतारिनु पर्ने छैन ।