एजेन्सी –रुसले विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनाएको दाबी गरेको छ । मंगलबार रुसको सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै रुसी राष्ट्रपति भलाद्मिर पुटिनले आफ्नो वैज्ञानिकले कोरोना भाइरसविरुद्धको खोप बनाएको दाबी गरेका हुन् ।


ADVERTISEMENT


रूसी समाचार एजेन्सी तासका अनुसार राष्ट्रपति पुटिनले कोरोनाको सुरक्षित खोप बनाएको र त्यसको दर्ता समेत गरेर मान्यता समेत दिएको बताएका छन् । उनले उक्त खोप कोरोना देखिएकी आफ्नी छोरीमा पनि प्रयोग गरेको र उनले राम्रो महसुस गरिरहेको दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


पुटिनले भनेका छन्, ‘मलाई थाहा छ कि यो खोप एकदमै प्रभावकारी छ र यसले रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ । म यो दोहोर्‍याउँछु कि सबै किसिमका सुरक्षा मापदण्डमा यो खरो उत्रिएको छ ।’ खोपमा कुनै ‘साइड इफेटक्ट’ नरहेको रुसको दाबी छ ।

सेप्टेम्बरदेखि उत्पादन, अक्टोबरदेखि प्रयोग

विश्वको पहिलो यो खोपलाई रुसी रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले मिलेर बनाएको हो । सेप्टेम्बरदेखि यसको उत्पादन गरिनेछ भने अक्टोबरदेखि यसको प्रयोग गरिने बताइएको छ ।

खोप सबैभन्दा पहिले फ्रन्टलाईन मेडिकल कर्मचारी, शिक्षक र जोखिमयुक्त व्यक्तिहरुलाई दिइनेछ ।

स्वास्थ्य मन्त्रालयको दाबी : आवश्यक सबै ट्रायल पूरा

समाचार एजेन्सी तासका अनुसार मंगलबार देशका शीर्ष अधिकारीसँगको बैठकमा राष्ट्रपति पुटिनले भने, ‘आज बिहान विश्वमा पहिलो पटक कोरोना भाइरसबाट बच्ने खोप दर्ता गरिएको छ । पुटिनले स्वास्थ्य मन्त्री मिखाइल मुराशकोलाई यसबारे विस्तृत जानकारी दिन अनुरोध गरेका थिए ।

त्यसपश्चात स्वास्थ्य मन्त्री मुराशकोले खोप प्रभावकारी रहेको र यसले सबै आवश्यक ट्रायल पास गरेको दाबी गरे । उनले भने, ‘मलाई जानकारी मिलेको छ कि हाम्रो खोपले प्रभावकारी रुपमा काम गर्छ र उत्कृष्ट रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ । म दोहोर्‍याउँछु, यसका लागि सबै आवश्यक ट्रायल पूरा गरिएको छ ।’

आफ्नो खोप ल्किनिकल ट्रायलमा शतप्रतिशत सफल भएको समेत रुसले दाबी गरेको छ ।

शंकाले घेरिएको रुसको दाबी

बीबीसीका अनुसार रुसले बनाएको कोरोनाविरुद्धको खोपमाथि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने केही शंका प्रकट गरेको छ । डब्ल्यूएचओलाई खासगरी खोपको तेस्रो चरणलाई लिएर संशय छ ।

डब्ल्यूएचओका प्रवक्ता क्रिस्टियन लिन्डमियरले प्रेस ब्रिफिङमा भने, ‘यदि कुनै खोपलाई तेस्रो चरणको ट्रायल बिना नै त्यसको उत्पादनका लागि लाइसेन्स जारी गरिन्छ भने यसलाई खतरनाक मान्नु पर्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको पनि बीबीसीले उल्लेख गरेको छ ।

यस्तै विज्ञहरुले पनि यो खोपबारे प्रश्न पनि उठाएका छन् । उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका छन् ।