काठमाडौँ, फागुन २४ । सप्तरीमा ४ जनाको ज्यान जाने गरी हिजो भएको झडपप्रति संयुक्त राज्य अमेरिकाले गम्भीर रूपमा चिन्ता व्यक्त गरेको छ । आज नेपाल स्थित अमेरिकी दूतावासले एक विज्ञप्ती जारी गर्दै संयमता अपनाउन सबैलाई आग्रह गरेको छ । सप्तरीमा हिजो भएको घटनका बारेमा प्रतिक्रिया जनाउने अमेरिका पहिलो विदेशी नियोग हुन पुगेको छ ।


ADVERTISEMENT


 

अमेरिकी दूतावासले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै : 


ADVERTISEMENT

# # #


२०७३ फागुन २४

अमेरिकी दूतावास, काठमाडौँको वक्तव्य

नेपालका केही क्षेत्रमा देखिएको बढ्दो अस्थिरताको सङ्केत लगायत हालै सप्‍तरीमा प्रदर्शनकारीहरूको ज्यान जाने गरी भएको झडपप्रति संयुक्त राज्य अमेरिका गम्भीर रूपमा चिन्तित छ । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन । नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा हामी नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौँ । त्यसै गरी हामी सबै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गर्दछौँ ।

नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटिरहेको देख्‍न पाउँदा हामी उत्साहित छौँ । संविधान कार्यान्वयन गर्ने र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्‍चित गर्ने दिशामा यो एक महत्त्वपूर्ण कदम हो । नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा संयुक्त राज्य अमेरिका सबै नेपालीहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ ।