कोरोना भाइरसले बैँक तथा वित्तीय क्षेत्रमा ल्याएको प्रभाव, बैँकको वर्तमान अवस्था र भावी योजना लगायतका विविध विषयमा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहसँग  हिमालय पोष्टले गरेको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


कोरोना महामारीका बीच बैँकिङ क्षेत्रको गति कसरी अघि बढिरहेको छ ? कस्तो छ अवस्था अहिले ?


ADVERTISEMENT

# # #


मैँले जहिले पनि भन्ने गर्छु, बैँकिङ क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो । मुटु मजबुत राख्नुपर्छ भन्ने हो । कोरोना महामारी सुरु भएदेखि सबैले हामीले राहत दियौँ भन्छन्, तर वास्तवमा वित्तीय क्षेत्रले जस्तो राहत अरु कसैले दिएको छैन । किनभने राष्ट्र बैँकबाट असार मसान्तसम्म ब्याज नलिनू, इएमआई, पीएमआई लगायतलाई पोस्टपोन्ड गर्दिनू भनेर निर्देशन आयो । त्यसपछि सबै लोनमा २ प्रतिशत ब्याज घटाइदिनू भनेर आयो । त्यो पनि हामीले मान्यौँ । त्यो राहत कसरी भयो भन्दा एकातिर हामीले डिपोजिटको ब्याज आजसम्म पनि तिरिरहेका छौँ । कुनै पनि वर्गको वित्तीय संस्थाले आज डिपोजिटको ब्याज तिर्दैनौँ भनेका छैनन् । अर्कातिर २ प्रतिशत घटाइए पनि यता घटाएका छैनौँ ।

हामीले आफूलाई धक्का दिएर पनि राहत दिइरहेका छौँ । राष्ट्र बैँकमा नयाँ गर्भनर आएपछि उहाँले तपाईंहरु पनि बाँच्नुहोस्, ग्राहकलाई पनि बचाउनुहोस् भन्नु भएको थियो । त्यसकारण यसलाई सन्तुलित बनाउनका लागि हामीले घाटा नाफा हेरेनौँ । जसको परिणाम अहिले बैँकको वार्षिक वित्तीय विवरण ऋणात्मक हुन पुगेको छ ।

तर पनि अहिले हाम्रो मुख्य ध्यान भनेको ‘ब्यालेन्स सिट’लाई दीगो कसरी बनाउने भन्नेमा छ । हाम्रो आफ्नो संस्था मात्र होइन हाम्रो ग्राहक वर्गलाई पनि ‘सर्ट टर्म’मा ‘सर्भाइभल’, ‘मिडियम टर्म’मा ‘रिभाइभल’ र ‘लङ्ग टर्म’मा ‘ग्रोथ’ भनेका छौँ ।

नबिल बैँकले यस बीचमा के गरिरहेको छ ?

लकडाउन सुरु भएर १–२ हप्ता हुँदा यो अझै लम्बिन सक्छ भनेर हामीले हाम्रो ‘लोन पोर्टपोलियो’ लाई रातो, पहेँलो र हरियोमा विभाजित गर्‍यौँ । हरियो भनेको जति कोभिडले त्यो क्षेत्रलाई छोएकै छैन, उहाँहरुको बिजनेस राम्रोसँग गइरहेको छ भन्ने हो  । पहेँलो भनेको बन्द छन्, कोरोनाले छोएको छ तर अलि ठीक किसिमको काउन्सिलिङ, व्यवस्थापन र राहत पायो भने उनीहरु हरियोमा जान्छन् । रातो भनेको जसलाई धेरै नै नकारात्मक प्रभाव परेको छ । उहाँहरुलाई एकदम राम्रो व्यवस्थापन र राहत चाहिन्छ भने हामीले वर्गीकरण गरेका छौँ ।

त्यो गरिसकेपछि हामीले हरेक ग्राहकसँग कुरा गर्‍यौँ कि तपाईंको योजना के छ ? जस्तो पाँच तारे होटेल, त्यो त अहिले बन्द छ, कोही पनि आएको छैन । प्रत्येक दिन तपाईहरुको हरेक कुरामा लागत कति छ ? रिभाइभ गर्नलाई तपाईंको योजना के छ ? बैँकबाट के सहयोग चाहिन्छ, सरकारबाट के सहयोग चाहिन्छ भनेर हामीले हाइड्रो, सिमेन्ट, छडदेखि लिएर सानो सानो व्यवसाय रेस्टुरेन्ट, अटोलोन लिएका सम्मका ग्राहकबारे अध्ययन गरेका छौँ । यही योजनाका साथ हामी अघि बढिरहेका छौँ । यो वर्ष शेयर होल्डर, कर्मचारी सबैले नाफा होइन, ब्यालेन्सको स्थिरतातिर हेर्ने हो भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।

कोरोनाले सबैतिर नकारात्मक प्रभाव त पारेको छ नै । यसका सकारात्मक कुराहरु पनि होलान् । कोरोनाले बैँकिङ क्षेत्रमा के कस्ता सकारात्मक प्रभाव पार्‍यो ? आगामी दिनमा के कस्तो परिवर्तन हुन्छ जस्तो लाग्छ ? 

कोरोनाको सबैभन्दा ठूलो सकारात्मक प्रभाव भनेको ‘डिजिटलाइजेसन’ हो । पहिले सबै बैँकमै आउने, कारोबार बैँकबाटै गर्ने थियो भने अब ग्राहकले बैँक नगएरै कसरी सेवा लिन सक्छन् भन्नेमा केन्द्रित छौँ ।

यही अवधिमा हामीले इएफ नबिल भन्ने एउटा योजना ल्यायौँ । जसले कर्पोरेट ग्राहकलाई अब तपाईंहरु बैँक आउनु पर्दैन, अफिसमै बसेर, घरमै बसेर ट्रान्सफरदेखि विभिन्न पेमेन्टहरुको सेवा उपलब्ध गराएका छौँ ।

यस्तै घरमै बसेर खोल्न सकिने ‘जेन एन एकाउन्ट’ ल्यायौँ, जुन निकै सफल भयो । सबै कुरा ‘डिजिटलाइजेसन’ मार्फत होस् भनेर हामीले नबिल डीजी बैँक, जुन बैँकभित्रको अर्को बैँक भन्ने संरचना सञ्चालनमा ल्यायौँ । ‘डिजिटलाइजेसन’ मा यहाँ पुग्नलाई अर्को ५ वर्ष लाग्थ्यो होला । तर, कोरोनाको जटिलताले यो जुराइएदियो । पहिले पनि मोबाइल बैकिङ लगायतका सेवाहरु थिए । त्यतिबेला ग्राहक भन्दा पनि बैँकको इच्छा अनुसार नै आए । तर, अब ग्राहकले नै सेवा माग गरिरहेका छन् । हाम्रो पनि लगानी भइरहेको छ । त्यसकारण आउने दिनमा जुन संस्थाहरु ‘डिजिटलाइजेसन’ मा अगाडी बढ्छन्, उनीहरु नै नम्बर वान् हुन्छन् ।

नबिल बैँकका आगामी योजनाहरु के के छन् ?

हाम्रो यो आर्थिक वर्षको पहिलो ‘क्वार्टर’ पूरै ‘सर्भाभल’मा जान्छ । जस्तो अहिले ‘लिक्वीडिटी’ उच्च छ, लोनको ‘अपटेक’ नभएकाले पूँजीलाई कसरी स्थिरिता दिनेभन्नेमा नै ध्यान केन्द्रित हुन्छ ।

कोरोना विरुद्धको सबै वातावरण सकारात्मक भयो भने दोस्रो ‘क्वार्टर’मा अर्थतन्त्रमा पनि स्थिरिता आउँछ होला । लकडाउन विस्तारै हट्दै जान्छ होला, अनि हामी ‘रिभाइभल’तिर जान्छौँ । यो आर्थिक वर्ष त ‘रिभाइभल’मै जान्छ होला । अर्को वर्ष हामी ‘ग्रोथ’मा पाइला टेक्छौँ ।

आफै विषम् परिस्थितिमा गुज्रिए पनि बैँक तथा वित्तीय संस्थाहरुले राहत दिएका छन् । यस्तो बेलामा बैँक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैँकले के गर्नुपर्छ, कस्तो खालको सहयोग आवश्यक देखिन्छ ?

संस्था चलाउने काम सीईओ र टिमको हो । वित्तीय क्षेत्रलाई कसरी अगाडि लैजाने भनेर हाम्रो नेपाल बैँकर संघ छ ।

मैँले पहिलेदेखि नै भन्दै आएको छु, कोरोना रोक्न सरकारले उपप्रधानमन्त्रीको संयोजकत्वमा समिति गठन गरेजस्तै अर्थतन्त्रलाई उकास्नका लागि पनि अर्थतन्त्र र योजनासँग सम्बन्धित सबै संस्थाको प्रतिनिधित्व हुनेगरी अर्थमन्त्रीको नेतृत्वमा एउटा कमिटि बन्नुपर्‍यो ।

तपाईले परिकल्पना गर्नुभएको सो कमिटिले कसरी काम गर्नुपर्छ ?

कमिटिले अहिलेको परिस्थितिलाई सम्बोधन गर्नका लागि गुरुयोजना बनाउनुपर्छ । अहिले दुई, साढे दुई लाख युवा वैदेशिक रोजगारीबाट फर्किएका छन् । उनीहरुको सही व्यवस्थापन गर्ने अर्थतन्त्रले नै हो । त्यसकारण मैँले अघि भनेजस्तै को रातो, को पहेँलो र को हरियो हेर्नुपर्‍यो । राहत पनि जसलाई चाहिएको छ, उसलाई मात्रै आवश्यकता हेरेर दिनुपर्‍यो । कोहीलाई लोनको ब्याज छुट चाहिएको होला, कोहीलाई घरभाडा छुट चाहिएको होला, फेरि कोही त्यही घरभाडाबाट नै व्यवसाय चलाइरहेका होलान् । उनीहरुलाई के राहत दिने ? यो सबै कुराका लागि एउटा गुरुयोजना चाहिन्छ । सबै क्षेत्रकाले हामी त डुब्यौँ भनिरहेका छन् । उसो भए सबैभन्दा बढी कुन क्षेत्र डुबेको र के राहत चाहिन्छ भन्ने बुझ्नुपर्यो । त्यसो गरियो भने हामी अर्थतन्त्रलाई एकदुई वर्षमा पुनरुत्थान गर्न सक्छौँ । त्यसका लागि सबै एक ठाउमा आउन जरुरी छ ।

कोरोनाले गर्दा लाखौँ युवाहरु स्वदेश फर्किएका छन् । तिनीहरुलाई स्वदेशमै व्यवस्थापन गर्नका लागि कृषि नै प्रमुख क्षेत्र हुनसक्छ । नबिल बैँकले अब कृषिसम्बन्धी के कस्ता योजना ल्याउँदैछ ?

धेरैले बैँकले लोन नै दिँदैन, त्यही भएर कृषि क्षेत्रमा प्रगती हुन सकेन भन्नुहुन्छ । तर, यसमा मेरो अनुभव छ । कृषि गर्नलाई चाहिने एउटै कुरा भनेको कृषक हो । हाम्रा किसान जापान, कोरिया, साउदी, कतार पुगेका छन् । पहिले त किसानै छैनन् । कसलाई लोन दिने ? गाउँमा जाँदा बाजे बज्यै र बालबच्चा मात्रै भेटिन्छन् । तर, अब लाखौँ युवाहरु फर्किन्छन् । त्यहाँ अवसर छ । त्यसको लागि हामीले ‘एसएमई लेन्डिङ’को योजना अन्तर्गत पहिले साना व्यवसायीहरुका लागि ‘एसएमई’ र माइक्रो फाइनान्समा नबिल नारी भनेर ल्याइसकेका छौँ । अब त्यसलाई युद्धस्तरमा अघि बढाउँछौँ ।

पर्यटनजस्तै कृषि पनि नेपालको अर्थतन्त्रको मूल आधार हो । कृषिमा अहिले युवाहरु फर्किएर हामीले लोन दिएर मात्रै पुग्दैन किनभने जे उत्पादन गरेपनि प्रतिस्पर्धा भारत, चीन र अन्य देशबाट आउने वस्तुहरुसँग हुन्छ । बजारमा तपाईं किन्न जानुहुन्छ भने दुई किसिमका वस्तुहरु राखिएका हुन्छन् । एउटा नेपाली र अर्को विदेशी । विदेशीको भन्दा नेपालीको मूल्य महंगो हुन्छ । तर हामी संस्तो रोजेर नेपाली उत्पादन वेवास्ता गर्छौँ । यसरी किसानहरुको उत्पादनको मूल्य देखिन्न ।  काठमाडौँ उपत्यका वरिपरिका किसानहरुले नै आफ्ना वस्तुहरु बजारमा पुर्‍याउन नसकेर फ्याँकिरहेका छन् । ग्राहकले किन्ने मूल्यको ७० प्रतिशत किसानले पाउनु पर्छ । तर यहाँ त म १०० मा किन्छु, किसानले ३० रुपैयाँ मात्रै पाउँछ । बीचमा दलाल गर्नेले ७० रुपैयाँ असुल्छ । यसले कृषिको विकास हुन सक्दैन । यसका लागि अघि भनेजस्तै आवश्यक गुरुयोजना चाहिन्छ, पैसा मात्रै भएर हुँदैन ।

नबिल बैँक युवा किसानहरुलाई विशेष गरी आधुनिक कृषिको योजना भएकाहरुलाई लोन दिन उत्साहित छ ।

तपाईं अर्थतन्त्रमात्र नभई हरेक क्षेत्रमा आफूलाई अपडेट राख्नुहुन्छ । नेपालमा कोरोना संक्रमणको परिस्थितिलाई कसरी मूल्याङ्कन गरिराख्नु भएको छ ?

मान्छेहरु भन्छन्, यति सयजनाको मृत्यु भयो, यति हजार संक्रमित थपिए । तपाईं नडराउनुहोस्, त्रसित नहुनुहोस् । नेपालमा मात्रै होइन, यो संसारमै भइरहेको छ भन्ने बुझौँ । नेपालमा त भारत लगायतका दक्षिण एशियाका देशभन्दा धेरै राम्रो छ । परीक्षण नभएर संक्रमण देखिएन भन्छन्, मरेको मान्छे पनि त कम छन् नि हाम्रोमा । रोग लागे पनि मान्छेहरु निको भइरहेका छन् । मर्नेहरु पनि सबै कोरोनाकै कारणले मरेका होइनन् भन्ने त थाहा भइसकेको छ ।

हामीले के बुझ्नुपर्छ भने जापान, अमेरिकाजस्तो होइन, हाम्रो स्वास्थ्य सुविधा, देशको अर्थतन्त्रको स्रोत सीमित छ । त्यसकारण हामी रोग कसरी नलाग्ने भन्ने तिर सचेत हुनुपर्छ । त्यसका लागि हरेक नेपाली नागरिकले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । देशलाई बचाउने हो भने यो दायित्व ‘म’बाटै सुरु हुन्छ भन्ने बुझ्नुपर्छ ।

मुखमा मास्क मात्रै लगाए पनि हामी धेरै हदसम्म संक्रमणबाट टाढा रहन सक्छौँ । तर, यो गरनौँ भने नेपाल सरकारले लाखौँ भेन्टिलेटर ल्याए पनि यसबाट हामी बच्न सक्दैनौँ । त्यसकारण यो महामारीबाट बच्ने दायित्व हरेक नेपाली नागरिकमा छ ।

आफ्ना कर्मचारी र ग्राहकलाई कोरोनाबाट सुरक्षित राख्न सतर्कता अपनाउनु भएको छ ?

लकडाउन भएदेखि देशको धेरै प्रतिशत जनसंख्या बैँकमा आउनु भएको छ । बैँकहरुमा पनि अहिले कोरोनाका केसहरु देखिरहेका छन् । तर, धेरै कम आइरहेको छ । किनभने बैँकमा प्रवेश गर्दा सेनिटाइजर, तापक्रम परीक्षण देखि लिएर मास्क लगाउने र सामाजिक दूरि पालना गराउने कुराहरु हामीले गरिरहेका छौँ । बैँकका कर्मचारीमा पनि यी निर्देशन कडा बनाइएका छन् । आउने दिन कठिन छन् । रोग लाग्छ, तर लाग्यो भन्दैमा अत्तालिनु हुँदैन । यसबाट हामी अवश्य बाहिर निस्किन्छौँ ।