काठमाडौँ – सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापी रुपमा मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी भईरहेको बताएका हुन् ।


ADVERTISEMENT


बुधबार ललितपुरमा आयोजित मर्यादित महिनावारीसम्बन्धि ‘भर्चुअल’ बैठकमा बोल्दै उनले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठ मुक्त’ बनाउने घोषणा पनि गरे । त्यसका लागि नीति, कार्यक्रम र कार्यविधि बनाउने कामलाई अघि बढाएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित निकायलाई आग्रह गरे । सरकारले छाउगोठ जस्ता सामाजिक कुरीतिको अन्त्य गर्न नेपाललाई मर्यादित महिनावारीको देश बनाउने नीतिगत निर्णय गरिसकेको छ ।


ADVERTISEMENT

# # #


मन्त्री गुरुङले यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने कामलाई अघि बढाएको पनि बताए । ‘सभ्य, सुन्दर र समुन्नत नेपाल निर्माण हुने गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन सरकार लागि परेको छ,’ उनले भने, ‘सरकारको यस अभियानमा साथ, सहयोग र सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक संघ, संस्थाहरुलाई आह्वान गर्दछु ।’

त्यस अवसरमा मन्त्री गुरुङले समाजमा विद्यमान लैगिंक विभेद अन्त्यका लागि ‘लैगिक मैत्री नीति’ निर्माण गर्ने कामलाई अघि बढाइएको पनि स्पष्ट पारे।
कार्यक्रममा सामाजिक अभियन्ता राधा पौडेल, पशुपति कुँवरलगायतले छाउँगोठ जस्ता सामाजिक कुरीतिको अन्त्यका लागि मर्यादित महिनावारीको कामलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति, कार्यक्रम र कार्यविधि बनाउने काम सुरु भएकोमा खुशी व्यक्त गरे।