– पर्शुराम बस्नेत, युवा नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

कोरोना महामारीकै बीच सत्तारुढ नेकपामा उतारचढाबहरु देखिए । पार्टीको एउटा युवा नेताका हिसाबले यसलाई कसरी नियालिरहनु भएको छ ?


ADVERTISEMENT


तपाईंले भनेजस्तै यो बीचमा केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने भन्ने भ्रमपूर्ण समाचारहरु बाहिरिए । तिनै मिडियाहरुका गलत प्रचारहरुलाई नै पुष्टि हुनेगरी हाम्रो पार्टीका नेताहरु सरकारको रक्षा गर्न नभई विरुद्धमा लाग्नुभयो । यसले आम जनतामा भ्रम सिर्जना गर्‍यो ।


ADVERTISEMENT

# # #


कोरोना महामारीले संसार थला परेका बेला बेमौसमी बाजा बजाएर जुन किसिमले गलत प्रचार गर्न खोजियो, त्यसमा कुनै सत्यता थिएन र छैन  ।

केपी ओलीको अनुहार मन नपरेर, राम्रो काम मन नपरेर, सत्ताको स्वाद लिन नपाएर आफूसँग नजिक भएको वा आफू नै प्रधानमन्त्री हुनपाए हुन्थ्यो भन्ने लाग्नु व्यक्तिगत महत्वकांक्षाका कुराहरु हुन् । तर,

पार्टीको आधिकारिक बैठकमा एजेण्डा नै बनाएर पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा माग्ने कुरा भएको छैन र त्यो हुन पनि सक्दैन ।

किनभने दुईवटा ठूला पार्टी मर्ज भएर सहमतिकै आधारमा एकताका ९० प्रतिशत बढी काम पूरा भएका छन् । कम्युनिस्ट पार्टीको लेलिनवादी ढाँचालाई पनि थाती राखेर सहमतिकै आधारमा महाधिवेशनसम्म दुईवटा अध्यक्षले पार्टी सञ्चालन गर्ने गरी अन्तरिम विधान मै सहमतिको विधान निर्माण भएको छ । यसबाहेकका हल्ला विधान विपरित र व्यक्तिगत हल्ला हुन् । त्यसमा कुनै दम र वैधता छैन । जति उहाँहरु पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरुद्धमा लाग्नुहुन्छ, त्यती नै उहाँहरु जनताको नजरमा उदाङ्गिनु हुन्छ ।

यो बीचमा प्रधानमान्त्री केपी ओली पार्टी भित्र अल्पमतमा परे भन्ने कुरा बाहिर आए त । खासमा के हो यथार्थ ?

प्रधानमन्त्री ओली पार्टीको पनि पहिलो अध्यक्ष हो । अहिलेको विधानले अल्पपमत भन्ने कुरा कहीँ बोलेको छैन । दुईवटा अध्यक्षले ‘आम बाम एक ठाम’ को पवित्र उद्देश्य राखेर निर्वाचनमा गठबन्धन गर्दै जसरी एकताको प्रक्रिया थालेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्नुभयो, त्यसका लागि नेता कार्यकर्ताहरुसँग छलफल गर्नुभएको थिएन ।

तर पनि नेताहरुले पवित्र काम गर्नुभयो भनेर हामीले आत्मसाथ गर्यौं र नेपालमा कम्युनिस्ट पार्टीको जनमत के छ भनेर संसारलाई सन्देश दियौँ ।

नेपालको नामै नसुनेका देशहरुको नजर पनि अहिले नेपाल तिर छ । त्यो प्रधानमन्त्री ओलीकै कारणले हो । उहाँको कठोर अडान र राष्ट्रियता प्रति चालेका कदमका कारणले देश र जनताको समृद्धिको सपना साकार पार्न निरन्तर लागेका कारणले त्यो भएको हो । यस्तो बेला केपी ओलीको विरोध गर्न सुहाउँदैन । यो प्रहार उहाँलाई होइन, नेपाली जनता माथिको प्रहार हो ।

अब संकट टरेको हो ?

यसमा संकट केही थिएन । संकट भएको हल्ला फिजाउने र देशी विदेशी प्रतिक्रियावादीहरुले षड्यन्त्र गरेर कम्युनिस्ट पार्टी फुटाएर व्यवस्था नै ढाल्न सकिन्छ कि भनेर गलत मनसाय बाट मैदानमा आएकाहरु पराजित भएका छन् । उहाँहरु जनताको नजरमा नांगिनु भयो र अहिले सच्चिने प्रयास गरिरहनु भएको छ । अर्का अध्यक्ष प्रचण्डको साथ, सहयोग र समर्थनमा कम्युनिस्ट पार्टी अझै बलशाली र शक्तिशाली हुन्छ ।

प्रधानमन्त्री ओलीले पनि केही दिनभित्र समस्या समाधान हुने बताउनु भएको थियो । यसका आधारहरु कसरी बनिरहेका होलान त ?

खासमा समस्या छँदै थिएन । यसलाई हामीले कृत्रिम समस्याका रुपमा लिएका थियौँ । केपी ओली नेकपाको महाधिवेशनबाट अध्यक्ष बन्नु भएको हो । संसदीय दलको निर्वाचनमा पनि जितेर नै उहाँ प्रधानमन्त्री हुनुभएको हो । प्रचण्ड पनि त्यसरी नै आउनु भएको हो । यी दुई अध्यक्ष निर्वाचित होइनन् भनेर कसैले हल्ला गर्छ भने त्यो भ्रम बाहेक केही होइन ।

भनेपछि अब पाँच वर्ष केपी ओलीले नै सरकार सम्हाल्ने र अर्को महाधिवेशन सम्म दुबै जनाले पार्टी सञ्चालन गर्ने अहिले कै मोडालिटी हो ?

अबको पाँचवर्ष केपी ओली नै प्रधानमन्त्री हो भनेर प्रचण्डले नै मिडियामा भनिरहनु भएको छ । म कार्यकारी रुपमा पार्टी सञ्चालन गर्छु र पाँच वर्ष जनमत अनुसार ओलीले नै समृद्धिको नेतृत्व गर्नुहुन्छ भनिरहनु भएको छ । महाधिवेशन घोषणा भइसकेपछि कृत्रिम समस्या समाधान भएर पार्टीले गति लिइसकेको अवस्थामा अब पार्टीको विचार, सिद्धान्तको बारेमा पनि बहस खुला गर्नुपर्छ ।

बामदेव गौतमले राख्नुभएको ६ बुँदे प्रस्ताव र ६ सदस्यीय कार्यदलले प्रस्ताव गरे अनुसार नै अब त्यो विषय टुंगिन्छ । नेपाल कम्युनिस्ट पार्टी फुट्ने होइन, अझै बलियो भएर आउँछ ।

अहिले मन्त्रीमण्डल हेरफेर गर्ने समाचार बाहिरिएका छन् । यो बारे तपाईलाई के सूचना छ ?

मन्त्रीमण्डल हेरफेर गर्ने भन्ने कुरा पार्टी भन्दा पनि नितान्त प्रधानमन्त्रीको कुरा हो । आवश्यकता र औचित्यका आधारमा प्रधानमन्त्रीले पुनर्गठन गर्ने निष्कर्ष निकाल्नुभयो र यो कुरा पार्टीका दुबै अध्यक्ष र सचिवालयबाट आवश्यकता महसुस भयो भने चाँडै फेरबदल हुनसक्ने सम्भावना छ । अहिले कतिपय शीर्ष नेताहरु सरकार बाहिर हुनुहुन्छ ।

सरकारलाई अझ चुस्त र सशक्त बनाउने र कोरोना महामारीको यो संकटलाई पार लगाउने हिसाबले ती खालका पात्रहरु मन्त्रीमण्डलमा समावेश गर्ने छलफल चलिरहेको हुनाले फेरबदल हुने संकेत हामीले पाएका छौँ । यो सकारात्मक नै हुन्छ भन्ने विश्वास छ ।

अब तपाईसंगै जोडिएर जिज्ञासा राखौं । सरकारलाई सफल बनाउने अभियानमा तपाईको काँधमा पनि केही जिम्मेवारी आउँदैछ भन्ने सुनिन्छ । खास के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संकल्प गर्नुएको ‘सुखी नेपाली र समृद्ध नेपाल’को सरकारको अभियानलाई सफल बनाउन आवश्यकता र औचित्यका आधारमा आईपर्ने जुनसुकै जिम्मेवारी प्राप्त हुन्छ भने पनि म त्यसका लागि तयार नै छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

अहिले हामी संसारलाई सताइरहेको कोरोना भाइरस विरुद्ध लडिरहेका छौँ । यस्तो बेलामा सरकारले जारी गरेको आवश्यक सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न म सबैलाई अनुरोध गर्छु । यस्तो बेलामा जनताले नै सचेत हुन जरुरी छ । अहिले ठाउँठाउँमा निषेधाज्ञा वा लकडाउन गरिएको छ । यस्तो बेलामा अनुशासित नभएर, बल मिच्याईं गर्यौं भने हामीआफू मात्रै होइन, अरुलाई पनि प्रभावित गर्छौं । त्यसकारण महामारीको बेला सबै सचेत भएर सरकारलाई साथ दिऔं, क्षति न्यूनीकरण गर्न जनताको भूमिका नै महत्वपूर्ण हुन्छ भन्ने ठान्छु ।