काठमाडौँ – समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले कोरोना हाउगुजी भएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिको कोरोना महामारी नियन्त्रणसम्बन्धी भच्र्युल वैठकमा चारैतिरको त्रास फैलाइएको बताए ।


ADVERTISEMENT


उनले भने, ‘कोरोना रोग होइन त्रास हो, डाक्टरहरु किन उपचार गर्न डराइरहेका छन् अचम्मको कुरा यो पो छ ।’ उनले कोरोना नियन्त्रणमा भइरहेका गतिविधिप्रति असन्तुष्टि जनाउँदै कृत्रिम डरका कारण समाजमा भय पैदा भएको बताए । पछिल्लो समयमा अमेरिका जस्तो देशमा पनि डाक्टरहरुले पीपीई प्रयोग नगरी सामान्य गाउन, मास्क र चश्मा लगाएर बिरामीको उपचार गरिरहेको उदाहरण दिँदै पीपीई लगाएर अथवा सामान्य गाउनमा समेत कोरोना बिरामीको उपचार गर्न डराउन नहुने बताए । जसका लागि आफू स्वयं पनि बिना पिपिई बिरामी हेरेर देखाइदिने दाबी गरे ।


ADVERTISEMENT

# # #


प्रदेशस्तरको कोरोना नियन्त्रण र रोकथामका लागि बनाइएको समितिका सदश्य रहेका उनी डाक्टरसमेत हुन् । बालरोग विशेषज्ञ उनी केही दिनयता महोत्तरीमा समय मिलाएर बिरामी समेत हेरिरहेका छन् ।

मेडिकल माफियाले नै यसलाई त्रासको रुपमा फैलाएको हो कि यसतर्फ पनि शंका गरेर सोच्नुपर्ने उनी बताउँछन् । यही त्रासका कारण पछिल्लो समय अन्य बिरामीले समेत उपचार पाउने अवस्था नरहेको र समाजमा विभेद बढ्दै गइरहेको बताउँदै उनले यो किनाराबाट पनि कोरोनालाई हेर्नुपर्ने तर्क उनको छ ।