काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडा र संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद् बीच छलफल भएको छ ।


ADVERTISEMENT


बिहीबार भिडियो कन्फेरेन्समार्फत उनीहरुबीच द्विपक्षीय सहयोग र हितका विषयमा भएको हो । छलफलमा अर्थमन्त्री खतिवडाले नेपाल र संयुक्त अधिराज्य बेलायत बीच दुई सय वर्ष देखि घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै नेपालको विकास र समृद्धिका लागि बेलायत सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए । उनले माननीय अर्थमन्त्रीले बेलायत सरकारले कोभिड–१९ पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा खुशी व्यक्त गरे ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री खतिवडाले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको, लगानी आकर्षित गर्ने गरी सार्वजनिक निजी साझेदारी तथा लगानी वोर्ड ऐन लगायतका कानूनहरु निर्माण गरिएको बताए। उनले बेलायतका लगानीकर्तालाई अघिल्लो वर्ष लगानी सम्मेलनका सिलसिलामा बेलायत भ्रमण गरेको र त्यसको फलस्वरुप बेलायती लगानीकर्ताहरु उत्सुक भएको स्मरण गर्दै यसमा सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गरे ।

उक्त छलफलमा बेलायतका मन्त्रीले कोभिड–१९ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न नेपाललाई ४५.८ मिलियन स्टर्लिङ्ग पाउण्डको सहयोग प्याकेजको घोषणा गरे । उनले नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा सम्बाद र हरित विकास जस्ता विषयमा नेपालसित थप सहयोग बढाउन र सहकार्य गर्न बेलायत सरकार ईच्छुक रहेको उल्लेख गरे ।