– डा. सुन्दरमणि दीक्षित

अहिले विश्वभरि नै ‘कोरोना’ को त्रास फैलिएको छ । यसले नेपाललाई समेत प्रभावित पारेको छ । खासमा के हो कोरोना ?


ADVERTISEMENT


कोरोना अहिले देखा परेको एक किसिमको भाइरस हो । योभन्दा पहिले ‘इन्फ्लूएन्जा भाइरस, एच वान् एन वान्’ भन्ने थियो । भाइरस विभिन्न किसिमका हुन्छन् । खासमा कोरोना भाइरस ‘सार्स’का रुपमा २००२ मा सुरु भएको हो । त्यसलाई हामी ‘कोरोना वान’ भन्न सक्छौँ । त्यसपछि ‘मर्स’का रुपमा साउदी अरेबियाबाट आयो । अहिले कोरोना भनेर आयो । कहिले इन्फ्लूएन्जा त कहिले कोरोना आइरहेको छ । कुनै बेला कडा भएको भाइरस कम हुँदै जाँदा अर्को भाइरस आइदिन्छ । यसबाट के बुझ्न सकिन्छ भने एउटा भाइरसले अर्को भाइरसलाई पनि मार्ने रहेछ ।   जस्तो, सन् १९१८ मा आएको ‘एच वान् एन वान्’ले संसारमा ४ देखि ५ करोड मान्छे मारेको थियो । त्यो १९५७ मा ‘एच टु वान टु’ले त्यसलाई समाप्त पार्‍यो । तर, ‘एच टु वान टु’ त्यति खतरनाक थिए । त्यसपछि इबोला लगायतका अन्य भाइरस पनि आए ।


ADVERTISEMENT

# # #


पहिलेको दुईवटा भन्दा यो कोरोना कमजोर र मानिसलाई मार्न सक्ने क्षमता अत्यन्तै कम तर संक्रमण व्यापक फैलाउने किसिमको आएको छ ।

भनेपछि क्षमताको हिसाबले यो कमजोर भाइरस हो ?

यो भाइरस एक्लै आउँदा त एकदमै कमजोर भाइरस हो । तर, यो एक्लै नभई झुण्डका झुण्ड आउँछ । जस्तो तपाईं, सहललाई बुझ्नुहोस् । एउटा मात्रै सलहले केही गर्न सक्दैन । तर, बथानका बथान आयो भने बाली सखाप हुन्छ । यो फैलिन्छ तर आफ्नो निशानी दिँदैन ।

तपाईंमा भाइरस प्रवेश गर्‍यो भने तपाईंलाई केही हुन्न, कुनै लक्षण देखिन्न । त्यसकारण तपाईंले थाहै नपाई फैलाउँदै जानुहुन्छ । बलियो आत्मरक्षा प्रणाली भएकाहरुका लागि यो घातक छैन । 

उसो भए यसलाई प्राणघातक भाइरस भन्न मिलेन, एउटा सामान्य भाइरसका रुपमा लिनुपर्यो ?

मैँले अघि पनि भनेँ, व्यक्तिगत रुपमा यो कमजोर हो । तर, यसले सामूहिक रुपमा काम गर्ने भएकाले मात्रै खतरा हुनसक्छ भनिएको हो । । यसको संक्रमणको गति ज्यादै तीव्र छ । यसको उदाहरण नै दिउँ, जब चीनको उहानमा संक्रमण देखियो, विभिन्न मुलुकले आफ्नो देशका नागरिकलाई चीनमा जहाज पठाउँदै उद्धार गरे । हामीले पनि गर्‍यौँ ।

संक्रमणका हिसाबले भयाबह बनाउन सक्ने तर लक्षण सम्म पनि नदेखिने, आफैं मानिसको मृत्यु सम्म पनि गर्न नसक्ने, अन्य रोग तथा कारणहरुले ग्रस्त कमजोर बिमारीहरुलाई गलाउने यस्को चरित्र देखिएकाले यो सोझै मानिसलाई कम मार्न सक्ने क्षमताका अत्यन्त सामान्य भाईरस हो ।

भनेपछि मृत्युदरका हिसाबले यस्लाई कसरी हेरिनु पर्छ ?

यसलाई यसरी हेर्नुपर्छ । जस्तो केही पहिले इबोला भाइरस आएको थियो । त्यसको मृत्युदर अत्याधिक थियो । तर, कम संख्यामा देखिएको थियो । तर, कोरोना भाइरस त करोडौँमा देखिएको छ । त्यसले गर्दा यसको मृत्युदर प्रतिशतमा कम होला । तर, संक्रमित धेरै भएकाले मृत्यु हुनेको संख्या बढी छ । त्यसकारण सकेसम्म यसलाई हामीले कडा हुन दिनु हुँदैन । संक्रमण नफैलियोस् भन्नेमा चाहिँ ध्यान दिनुपर्छ ।

भनेपछि कोरोना आफैले मान्छे मार्दैन, यसले अन्य रोगका कारण आत्मबल गिरेका वा कमजोरहरुलाई बढी असर पुर्‍याउने र तिनीहरु नै मरिरहेका भन्ने कुरा सहि हो हैन त ?

त्यो त हो । हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । कुनै पनि रोगसँग लड्ने क्षमता त्यसमा हुन्छ । यो ब्याक्टेरिया आयो भने  यो प्रोटिन, भिटामिनको अश्त्रले म ढाल्न सक्छु भन्ने योजना शरीरले दिमागमा राखेको हुन्छ । तर, एक्कासी कहिल्यै नदेखेका ब्याक्टेरियाहरु सामूहिक रुपमा आक्रमण गर्न आउँछन् भने त्यसको रोकथामका लागि शरीरलाई पनि गाह्रो हुन्छ ।

शरीरमा दुई किसिमका रोग प्रतिरोधात्मक क्षमता हुन्छन्, एउटा जन्मजात नै ल्याएको ‘इन्नेट इम्यूनिटी’ हुन्छ, अर्को ‘एक्वाएर्ड इम्यूनिटी’ हो । यो अनुभवबाट विकसित भएका विभिन्न प्रतिरोधी क्षमताहरु । त्यसकारण यो भाइरससँग लड्नका लागि जन्मजात पैदा भएको इम्यूनिटी हामीसँग छैन ।  यसलाई हामीले विकसित गर्नुपर्छ ।

अध्ययन अनुसार कोरोनाले शरीरलाई रोगप्रतिरोधी क्षमता विकास गर्न निकै प्रभावित गर्नेरहेछ । त्यसकारणले संक्रमण अघि नै शरीरभित्र रहेका अन्य रोगहरुले पनि यसको सहयोगमा आक्रमण गर्नेरहेछन् ।

युद्धका बेला शत्रूहरुले कमजोर ठाउँमा वा सुरक्षा अवस्था कमजोर भएको ठाउँमा आक्रमण गरेजस्तै यसले पनि कमजोर भागहरुमा आक्रमण गर्ने भएकाले गर्दा मृत्युदर बढी भएको हो ।

हामीले मुख्य रुपमा ध्यान दिने भनेकै आत्मबल बढाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै हो । 

संक्रमण देखिएका करिब ९९ प्रतिशत मान्छे निको भइरहेका छन् तर, यसको कुनै औषिधि वा खोप बनिसकेको छैन यस हिसाबले यो भाइरस लागेपछि आफै निको हुन्छ भन्ने पनि त देखियो नि हैन ?

तपाईंमा त्यो भाइरस कस्तो शक्तिका साथ आयो भन्नेमा भर पर्छ । कति संख्यामा आयो भन्नेमा पनि भर पर्छ । थोरै आयो भने नाक वा घाँटीमै बस्छ, तल जान पाउँदैन । तल जान पाएन भने धेरै लक्षण नदेखिन सक्छन् । आखिर भाइरसको पनि त आयू हुन्छ । अहिले हेर्दा के देखिन्छ भने रोग लागेपछि खराब रुप लिने भनेको ९ देखि १२ दिनसम्म हुने रहेछ । सुरुका तीन चार दिनको अबधिमा यो नाक र घाँटीमा बस्ने रहेछ र संक्रमणपूर्ण हुने रहेछ । तर त्यस अबधिमा रोग भने नदेखिने रहेछ । त्यसकारण भाइरसको कति संख्याले आक्रमण गरेको छ, तपाईंको प्रतिरोधी क्षमता के छ भन्नेमा भर पर्छ ।

‘इन्नेट इम्यूनिटी’का कारण कोरोना लागेपनि ८५ प्रतिशतलाई त केही पनि गर्दैन । त्यसमध्ये १० प्रतिशतलाई सामान्य ज्वरो, खोकी, श्वास प्रश्वासमा सामान्य समस्या मात्रै  देखिन्छ । अन्य ५ प्रतिशतलाई केही गम्भीर बनाउने हो । उनीहरुलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । त्यसमा पनि मृत्यु नै हुने भनेको २ प्रतिशतको मात्रै हो ।

अहिले कोराना संक्रमित पत्ता लगाउने पीसीआर विधिको वैधानिकता माथि नै प्रश्न उठ्न थालेको छ । यसबारे के भन्नुहुन्छ ?

अहिले कतिमा कोरोना छ भनेर थाहा पाउनलाई त पीसीआर नै गर्नुपर्छ । त्यो नगरी मृत्युदर कति भयो, संक्रमणको अवस्था कस्तो हुँदैछ ? कस्तो स्वास्थ्य संरचना वा कति स्वास्थ्यकर्मी आवश्यक पर्छ भन्नेबारे रणनीति बनाउन नै सकिँन्न । त्यसकारण हामीसँग यसको विकल्प छैन । कुनैपनि अनुसन्धान व्यवहारमा लागू हुँदा अन्वेषकले जे सोचेको थियो, त्यो हुन सक्दैन । जस्तो मोबाइल बनाउनेहरुले अपहरण गर्नका लागि त बनाएका होइनन्, तर, केहीले त्यही मोबाइल प्रयोग गरेरै अपहरण गरिरहेका छन् !

कोरोना भाइरस विश्वमा देखा परेको झण्डै एक वर्ष हुन लागेको छ । विश्व अहिले ठप्प छ । अन्य रोगलाई थाती राखेर सबै यतै तिर लागेका छन् । नेपालमा पनि ५ महिना बढीदेखि जनजीवन प्रभावित छ । अब जीवनशैलीलाई कसरी सामान्य बनाउन सकिन्छ ?

यसको गतिलो उत्तर त कसैलाई छैन । किनभने कोरोना भाइरसको औषधि पत्ता लागिसकेको छैन । जीवनयापन सामान्य बनाउन यो नै गर्नुपर्छ भन्न कसैले सक्दैन । तर, एकदुईवटा उदाहरण दिऔँ ।

स्वीडेनले कहिल्यै पनि लकडाउन गरेन । सरकारले जनतालाई सुझाव, सल्लाह दियो । मास्क लगाऊ, रेस्टुरेन्टमा जाँदा दूरी कायम गर भन्यो । तर, बाध्य पारेन । त्यहाँ संक्रमणको दर त्यति फैलिएको छैन् ।

अर्को हामीले पाकिस्तानलाई हेर्नुपर्छ । किनकी उसको र हाम्रो कतिपय कुराहरु मिल्दोजुल्दो छ । उसले संक्रमणको त्यस्तो अवस्थामा पुग्दा पनि लकडाउनलाई कम गर्दै लग्यो । विगत एक दुई दिनको रिर्पोट हेर्दा पाकिस्तानमा संक्रमण पनि घटेको छ भने मृत्यु दर पनि एकदमै कम छ ।

त्यही कुरा भारतमा हेरौँ । उसको जनसंख्या पनि अत्याधिक छ । उसले पनि सकेसम्म खोल्न खोज्यो । तर, पाकिस्तानको जति सफलता मिलेको छैन । त्यो किन भयो, त्यो अनुसन्धानले बताउँछ । तर, भारतले पनि गर्न खोज्यो । किनभने त्यसको पछि अर्थतन्त्रको कुरा छ ।

अर्को हामीले सिक्नुपर्छ, दक्षिण कोरियाबाट । उसले एकदम छिटो लकडाउन गर्‍यो र एकदम छिटो खोल्यो पनि । तर, आज दक्षिण कोरिया पूर्ण रुपमा लकडाउनमा छ । किनभने त्यहाँ छाडापन भयो ।

यस्तै न्यूजील्याण्डमा पनि सुरुमै अन्तर्राष्ट्रिय हवाई सेवा बन्द भयो । अन्य स्वास्थ्य मापदण्ड र रणनीति अपनाएर कोरोनालाई नियन्त्रणमा ल्याइयो । उनीहरुले त १०० दिनसम्म नयाँ कोरोना संक्रमित नदेखिएपछि हाम्रोमा कोरोना छैन भनेर एक किसिमले उत्सव नै मनाए ।

भन्नाले लकडाउन मात्रै विकल्प होइन, तर यो कोरोना रोक्न प्रभावकारी उपाय हो । सरकारले मानसिक रुपमा तर्साउने र थुनेर मात्रै राख्ने होईन, जीवनशैलीलाई सहज बनाउँदै मनोबैज्ञानिक त्रासबाट मानिसलाई मुक्त गराउनुपर्छ । यो भनेको छाडा हुनु भनेको पनि होईन । सचेत बन्दै रोग प्रतिरोधात्मक क्षमता बढाउँदै स्वस्थ बनेर व्यवहार अगाडी बढाउनुको बिकल्प छैन ।

डा. दीक्षितले कोरोना भाईरस लगायत अन्य संक्रमण र रोगहरुबाट बँच्नका लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पूर्वीय दर्शन संस्कृती, अध्यात्म, जडिबुटीहरु तथा आयुर्वेदको महत्वपूर्ण र शक्तिशाली भूमिका हुने बताउनु भएको छ । उक्त प्रभाबकारी उपचार बारे उहाँको बिचार अर्को श्रृङ्खलामा प्रकाशित गर्नेछौं ।