काठमाडौँ – नेपाली काँग्रेसले पार्टीको केन्द्रीय मुखपत्र ‘नेपाल पुकार’ प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने भएको छ ।


ADVERTISEMENT


काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिमार्फत यही भदौ २० र २१ गते सम्पन्न बैठकले सो निर्णय गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए । विभागीय प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले काँग्रेसलाई सूचना, सञ्चार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधिमैत्री बनाउँदै अघि बढ्ने अभियान शुरूवात गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले ‘प्रविधि मैत्री अभियान’ को शुरूवातमा पार्टीको वेबसाईटलाई यथाशीघ्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने तथा प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले गोवर्धन राना मगरको संयोजकत्वमा वेबसाट संयोजन उपसमिति, डा सुरेश आचार्यको संयोजकत्वमा छहारी संवाद संयोजन, ई दीपेश विष्टको संयोजकत्वमा प्रविधि संयोजन, नीर शाहको संयोजकत्वमा टेलिभिजन नेटवर्क सूचना संयोजन, गोपाल झाको संयोजकत्वमा रेडियो नेटवर्क सूचना संयोजन र दिनेश थापा मगरको संयोजकत्वमा नियमित सूचना सम्प्रेषण संयोजन उपसमिति गठन गरेको छ ।

यसैगरी बैठकले कोरोना सङ्क्रमणको वृद्धिदर र मृत्युदर दुवै तीव्र ढङ्गले बढ्दै गएका स्थितिमा जनचेतनामा निर्वाह गर्न सरकारलाई दिने सुझाव अवधारणा निर्माण गर्न डा अञ्जनी झाको संयोजकत्वमा ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ । त्यस्तै बैठकले विभिन्न समुदायका मुद्दा र मानसिकताको पछिल्लो स्थितिको सूचना र तथ्य अध्ययन गरेर आवश्यक संवाद रणनीति निर्माण गर्न बजरङ्ग नेपालीलाई अध्ययन कार्यदलको संयोजकको अभिभारा सुम्पेको छ ।

पछिल्लो पुस्तामा पार्टीको विचार र सिद्धान्त सम्प्रेषण गर्ने सम्बन्धमा प्रविधिमार्फतको विशेष अभियान अघि बढाउन आवश्यक रणनीति र योजना निर्माण गरी प्रस्तुत गर्न विकल राईलाई कार्यदल संयोजकका रूपमा जिम्मेवारी सुम्पिएको छ ।