काठमाडौँ – पार्टीका आन्तरिक विवादहरुलाई समाधान गर्न भन्दै शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ ।


ADVERTISEMENT


बैठकले अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यविभान समेत गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


बैठकमा अध्यक्षद्वयले निर्णयका लागि आफ्नो प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव स्थायी कमिटिका सबै सदस्यहरुलाई अध्ययनका लागि अघिल्लो दिन नै प्रदान गरिएको प्रवक्ता श्रेष्ठले जनाए ।

शुक्रबारको बैठकमा १३ जना सदस्यहरुले उक्त प्रस्तावबारे आफ्नो विचार राखेका थिए । बैठकले सदस्यहरुबाट प्राप्त सुझावहरुलाई समेट्दै उक्त प्रस्ताव पारित गरिएको उनले बताए ।

यस्ता छन् स्थायी कमिटिको बैठकले पारित गरेका प्रस्ताव

१. पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै पार्टी एकताको रक्षा गर्ने र  पार्टीलाई अझ बढी सुदृढ गरेर अगाढि बढाउने ।

२. पार्टीलाई विधि र पद्धतिमा संस्थागत ढंगले सञ्चालन गर्ने काममा भएका कमिकमजोरीलाई सच्याउने र अबका दिनमा पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र गतकालमा भएका निर्णयलाई पनि कार्यान्वयनको दिशामा लैजाने ।

३. अध्यक्ष कार्यविभाजनको हकमा पार्टी अध्यक्ष एवंप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढङ्गले अगाडि बढाएर सफल पार्ने कार्यको नेतृत्व गर्ने, अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने ।

४. सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन हुने, दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर पार्टी आधारभत महत्वका नीति र राष्ट्रिय महत्वका निर्णय लिनु पर्दा पार्टीको मार्गनिर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने ।

५. राष्ट्रिय महत्वका निर्णयको हकमा सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्श र सहमतिका आधारमा गर्ने ।

६. सरकारले प्रस्तुत गर्ने विधेयक र नीतिको सैद्धान्तिक पक्षका बारेमा केन्द्रीय कमिटि, स्थायी कमिटि वा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने ।

७. पार्टी महाधिवेशन आगामी चैत्र २५-३० गतेसम्म काठमाडौँमा गर्ने । त्यसको तयारीका लागि कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीस्य कमिटिको बैठक बस्ने ।

८. कालापानी, लिपुलेक र लिम्पियाधुराको अक्रिमित भूभाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेर नयाँ नक्सा पारित गरेकोमा सरकार, विभिन्न पार्टी र सासदलाई धन्यवाद दिने । भूमि फिर्ता ल्याउनका लागि भारतसँग वार्ता गर्नुपर्ने र त्यसतर्फ सरकारको कदम सकारात्मक ।

९. कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा सरकारले अपनाएका नीति, कार्यक्रम र योजनालाई सकारात्मक रुपमा लिँदै यसको प्रभावकारी नियन्त्रण र समाधानका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्ने । फ्रन्टलाइनमा खटिनेहरुको आवश्यकतालाई गम्भीर ढंगले सम्बोधन गर्ने ।

१०. (एमसीसी)को हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने । तर, के संशोधन गर्ने भन्ने कुरामा पार्टी वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको सुझाव प्रतिवेदनलाई समेत ध्यान दिइ पार्टीको बैठकमा छलफल गरेर निष्कर्ष निकोल्ने ।