काठमाडौं –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी सरकारका सम्बन्धमा केही महत्वपूर्ण निर्णय गरेको छ ।


ADVERTISEMENT


बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, के संशोधन गर्ने भन्ने कुरामा पार्टी वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको सुझाव प्रतिवेदनलाई समेत ध्यान दिइ पार्टीको बैठकमा छलफल गरेर निष्कर्ष निकोल्ने उनले बताए ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारीबारे पनि टुंगो लगाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार अब प्रधानमन्त्री ओलीले सरकारमा केन्द्रित भएर सरकारको सञ्चालन प्रभावकारी ढङ्गले अगाडि बढाउने र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्नेछन् ।

उनले भने, ‘अध्यक्ष कार्यविभाजनको हकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढङ्गले अगाडि बढाएर सफल पार्ने कार्यको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको छ ।’

यस्तै बैठकले पार्टीको महाधिवेशन आगामी चैत्र २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै गर्ने निर्णय गरेको छ । त्यसको तयारीका लागि कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ । यस्तै बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुराको अक्रिमित भूभाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेर नयाँ नक्सा पारित गरेको भन्दै  व्यक्त गरेको पनि उनले बताए । भूमि फिर्ता ल्याउनका लागि भारतसँग वार्ता गर्नुपर्ने र सरकार त्यसतर्फ सकारात्मक रुपमा लागेको निष्कर्ष बैठकले निकालेको छ ।