धनगढी – सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणी, घरेलु हिंसा र आत्महत्याका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको लकडाउन अवधिमा विशेष गरी प्रदेशमा जबरजस्ती करणी र बलात्कारका घटनामा बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।


ADVERTISEMENT


गत चैत महिनायता हालसम्म प्रदेशका नौ वटै जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी १५० वटा मुद्दा प्रहरीमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्यालयको तथ्याङ्क अनुसार गत चैत महिनामा कैलालीमा ६, कञ्चनपुरमा ३, बाजुरा र बझाङ्गमा दुई/दुई र बैतडीमा एक गरी जबरजस्ती करणीका १४ वटा मुद्दा दर्ता भएका छन् । चैतमा जबरजस्ती करणी तर्फ कैलाली र कञ्चनपुरमा दुई÷दुई वटा गरी चार वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय जबरजस्ती करणीका मुद्दाहरु पनि बढ्दै गएको देखिएको छ । त्यसैगरी गत बैशाखमा कैलालीमा ८, कञ्चनपुरमा ३ र डोटी, अछाम, बाजुरा र दार्चुलामा एक÷एक गरी जबरजस्ती करणीका घटना प्रहरी कार्यालयमा दर्ता भएका बताइएको छ ।

यस्तै गत जेठमा यहाँ जवरजस्ती करणीमा २३ र जवरजस्ती करणी उद्योगमा ५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । गत असारमा भने मुद्दा बढेर जबरजस्ती करणीमा २५ र उद्योगमा १२ वटा मुद्दा गरी ३७ वटा मुद्दा यहाँका जिल्ला प्रहरी कार्यालयहरुमा दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कैलालीमा दुवै मुद्दा गरी २१ वटा दर्ता भएका छन् ।

गत साउनमा पनि जबरजस्ती करणी सम्बन्धी मुद्दा ३२ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

साउनमा जबरजस्ती करणीमा २१ र सो सम्बन्धी उद्योगमा ११ वटा मुद्दा दर्ता भएका छन् । यही भदौ महिनामा पनि जबरस्ती करणी सम्बन्धी १५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बन्दाबन्दीमा जबरजस्ती करणी र उद्योगमा घटना विगतजस्तैको अवस्थामा रहेको जानकारी दिए । “विगतको तथ्याङ्क हेर्ने हो भनेपनि केही तलमाथि बाहेक समान नै छ ।” उनले भने, “बन्दाबन्दी भएर यसप्रकारका मुद्दा बढे भनिहाल्नुपर्ने अवस्था छैन् ।

उनले उक्त घटनाहरुमा अभियुक्तहरु कानुनी कारबाहीको दाउरामा रहेको जानकारी दिए। “अपराधमा संलग्नहरु यी मुद्दामा कोही पनि फरार रहेको अवस्था छैन ।” उनले भने, “कोरोना कहरको जोखिमका बीच पनि प्रहरी गाउँबस्ती दुरदराजसम्म पुगेर सुरक्षाको आभाष दिलाइरहेकै छ ।”
त्यसैगरी माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले लकडाउन अवधीमा महिला हिंसाका घटनाहरु बढेको बताइन्। “सबै जना बेरोजगार भए, गुजारा चलाउन पनि गाह्रो हुने स्थित भएकाले हिंसा बढ्ने अवस्था छ ।” उनले भनिन् “अपराध नियन्त्रण गर्न कारवाही पक्ष बलियो हुनुपर्छ ।” उनले पछिल्लो अवस्थामा बेरोजगारी समस्या बढिरहेकाले स्वरोजगारका कार्यक्रम ल्याउन आवश्यक छ ।”

उनले माइती नेपालमा पनि जवरजस्ती करणी उद्योगका मुद्दाका साथै महिला हिंसाका घटनाहरु लिएर पीडितहरु उजुरी लिएर आइरहेको जानकारी दिइन् । “बन्दाबन्दीमा मानव बेचबिखन गर्ने दलालहरुको गिरोह पनि सक्रिय छ ।” उनले भनिन्, “भारत आवत जावत सुचारु हुन दिदा विभिन्न चलाखी गरेर सीमा कटाउने प्रयास हुदैछ ।” नेपालीहरुको नक्कली भारतीय परिचयपत्र ल्याएर सीमा कटाउने काम भइरहेको उनले बताए।

आत्महत्या बढ्दो

प्रदेशमा आत्महत्या गर्नेहरुको सङख्या पनि बर्षेनी बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७६ र ०७७ मा प्रदेशमा ५ सय ५१ जनाले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको बढी हो ।

प्रदेश प्रहरीको तथ्याङ्कले हरेक वर्ष यहाँ आत्महत्या गर्नेहरुको सङ्ख्या वृद्धि हुदै गइरहेको देखाएको छ । “आत्महत्याको दर पनि विगत बर्ष र अहिलेको अवस्थामा समान जस्तै छ ।” प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भने–“सङ्ख्यामा वृद्धि भएपनि धेरै अन्तर भने छैन ।” उनले लकडाउनयता सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी ३०६ जनाले आत्महत्या गरेको बताए ।

बितेको झण्डैं ६ महिनाको अवधिमा सबैभन्दा बढी कैलालीमा ११० जनाले आत्महत्या गरेका छन् । गत चैत ११ गतेयता आर्थिक मसान्तसम्म कैलालमिा ८१, कञ्चनपुरमा ६८, डोटीमा १५, अछाममा १४, बैतडीमा १२, दार्चुलामा १०, डडेल्धुरा र बझाङ्गमा ९-९ र बाजुरामा ६ जनाले गरी २२४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रदेशमा आर्थिक वर्ष २०७२/०७३ मा ४५६, २०७३/०७४ मा ४३६, ०७४/०६ं७५ मा ४७०, २०७५/०७६ मा ४७५ र गत आर्थिक बर्षमा ५५१ जनाले आत्महत्या गरेको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए ।

चार बर्षयताको तथ्याङ्क हेर्दा सबैभन्दा बढी झुण्डिएर र त्यसपछि विष सेवन गरेर मर्नेको संख्या धेरै छ । त्यसैगरी पानीमा हाम फालेर, हातहतियार प्रयोग गरेर र विष्पोटक पदार्थ प्रयोग गरेर पनि सुदूरपश्चिममा आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । प्रदेशमा आर्थिक वर्ष २०७२ र ०७३ देखि ०७६ र ०७७ सम्म दुई हजार तीन सय ८८ जनाले आत्महत्या गरेका छन् । ती मध्ये बालिबालिकाले समेत रहेका जनाइएको छ ।

प्रहरीले कतिपय आत्महत्या घरेलु हिंसा र पारिवारिक कलहका कारण पनि भइरहेको विश्लेषण गरेको छ ।“आत्महत्या र आपराधिक घटनाहरु रोकथामका लागि प्रहरीलेसचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।” उनले भने,“अपराध रहित समाज निर्माणका लागि सबैको सहयोग/सहकार्य आवश्यक छ ।”

त्यसैगरी महेन्द्रनगरस्थित अधिवक्ता पुनम चन्दले घरेलु हिंसा, आत्महत्या र जबरजस्ती करणीका मुद्दाहरु बढिरेहको बताइन् । “कतिपय घटनाहरु गाउँघरमै मिलापत्र गरेर लुकाइएको पनि देखिन्छ ।” उनले भनिन्, “मानिस पहिले भन्दा चेतनशील भइसके, न्याय खोज्न पनि आउने क्रम बढ्दै छ ।” रासस