सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी कम्तीमा १८ घर पुरिएका छन् भने, दर्जनौँ मानिस बेपत्ता भएका छन् ।


ADVERTISEMENT


बाह्रविसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । पहिरोले १८ बढी घर पुरिएको र १ दर्जन बढी मानिस बेपत्ता भएको बताउँदै उनले क्षतिको एकीन विवरण आइनसकेको बताए । बिहाना ४ बजे घटना भएको जानकारी पाएपछि घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारका लागि पठाइएको जानकारी उनले दिए ।


ADVERTISEMENT

# # #


स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ ।

त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

गएराति परेको अविरल वर्षाका कारण वस्तीमा क्षति पुगेको हो ।