काठमाडौं – निजी वायुससेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर उडानका लागि अनुमति पाएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही दिन अघि यतिलाई अन्तर्राष्ट्रिय चार्डड उडान गर्न पाउने गरी अनुमति दिएको हो ।


ADVERTISEMENT


यद्दपी यतिले अन्तर्राष्ट्रिय चार्डड उडानको लाइसेन्स भने पाइसकेको छैन । लाइसेन्स बिना उडान भर्न मिल्दैन । मन्त्रालयको अनुमतिपश्चात लाइसेन्स प्राप्तिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रक्रिया सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले हिमालय पोष्टलाई बताए । उनका अनुसार आवश्यक मापदण्ड पूरा भएपछि क्यानले यतिलाई लाइसेन्स दिनेछ ।


ADVERTISEMENT

# # #


‘मन्त्रालयले स्वीकृत गरिसकेको छ । अब क्यानले गर्नुपर्छ ।’ उनले भने, ‘त्यसका लागि केही प्राविधिक कामहरु बाँकी छन् । त्यसपछि लाइसेन्स आउँछ ।’ उनले लाइसेन्स प्राप्त गर्न करिब दुई महिनासम्म लाग्न सक्ने जानकारी गराए । लाइसेन्स प्राप्तीपछि नियमित नभई चार्डड उडान गर्ने र त्यसका गन्तव्यहरु माग अनुसार भारतका बनारस, लखनउ, कोलकत्ता लगायत हुनेछन् ।

यति एयरलाइन्सले हाल आन्तरिक उडानमात्र भरिरहेको छ । कम्पनीसँग ५ वटा जेटस्ट्रिम र ५ वटा एटीआर गरेर १० वटा विमान छन् । तारा एयरका ४ वटा ट्वीन अटर छन् । यस्तै यतिको भगिनी कम्पनी हिमालय एयरलाइन्सले भने नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।