खलंगा – जुम्लाको तिला गाउँपालिका–९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लागेका छन् । हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उनी यसपालि कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले पाटनतिर हिँडेका हुन् ।


ADVERTISEMENT


रावत केही युवाको समूह लिएर जडीबुटी सङ्कलनमा जुटेका छन् । “आम्दानीको कुनै स्रोत छैन”, उनले भने, “परिवारको गुजारा चलाउन हम्मेहम्मे भइरहेको छ । लगाएको खेतीबालीले छ महिना पनि खानै पुग्दैन ।” त्यसैले पैसा कमाउनका लागि जडीबुटी सङ्कलन गर्न पाटनतिर गएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


रावतजस्तै अहिले जुम्लाका थुप्रै विपन्न नागरिक जडीबुटी सङ्कलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी (खिरौला) र पदमचाल जस्ता जडीबुटी सङ्कलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् । तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टोलीमा जडीबुटी सङ्कलन गर्न हिँडेका छन् । उनले दुई दिनको पैदल यात्रापछि पाटनमा पुगिने बताए । एक दिनमा सेतोचिनी सङ्कलनबाट न्यूनतम रु एक हजारसम्म आम्दानी गर्न सकिने उनीहरु बताउँछन् । सेतो चिनी सुकाएको प्रतिकिलो रु ५०० र काँचो प्रतिकिलो रु २५ मा बिक्री हुन्छ । एक दिनमा एक जनाले एक क्विन्टलसम्म कोर्न सक्ने ती युवाको अनुभव छ । सेतोचिनी कोर्न भने धेरै दुःख हुने उनीहरू बताउँछन् ।

जडीबुटी सङ्कलनका लागि आवश्यक खाद्यान्न, नून, तेल, भाँडाकुँडा र लत्ताकपडा बोकेर जानुपर्छ । स्थानीय एक युवक भन्छन्, “सबै बोकेर लानुपर्छ, दाउरा र पानी पनि टाढाबाट बोक्नुपर्छ । अचानक बिरामी हुँदा समस्या हुन्छ । पाटनमा चट्याङको डर पनि उत्तिकै हुन्छ । ” ज्यानको बाजी थापेर खर्च जुटाउन भए पनि पाटनतिर जान बाध्य भएको ती युवकले सुनाए ।

तातोपानी–७ सर्मीका प्रेम कुँवर पनि दशैँ खर्च जुटाउनका लागि एक महिना पाटनमै बस्ने योजनामा छन् । अव्यवस्थित ढङ्गले सेतोचिनी सङ्कलन हुँदै जाँदा अहिले नजिकनजिक पाउन छाडेको उनले बताए । उनका अनुसार यसको बीउ नपाक्दै सङ्कलन गर्नाले लोप हुने खतरा बढेको छ । कात्तिकदेखि मङ्सिरसम्म राख्ने हो भने यसको बीउ पाक्छ तर आजभोलि नै सङ्कलन गर्ने प्रतिस्पर्धा चलिरहेको उनले बताए ।

जुम्लामा अत्यधिक दोहन र चोरी निकासीका कारण लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी लोप हुन थालेको छ । अवैध चोरी निकासीका कारण पर्याप्तमात्रामा पाइने सेतोचिनी, धुपी, पाँचऔँले, सतुवा, पदमचाललगायत थुप्रै जडीबुटी पछिल्लो समय लोप हुँदै गएका छन् । रासस