वैजयन्ती शर्मा , काठमाडौँ – भारत सरकारले आइतवारदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ । भारतले प्रतिबन्ध लगाएको भोलिपल्ट प्याजको मूल्य ७० प्रतिशतसम्मले वृद्धि भई प्रतिकिलो १०० रुपैयाँसम्म पुगेको छ । आइतवार काठमाडौँ उपत्यकामा प्याजको अधिकतम मूल्य ६० रुपैयाँसम्म थियो ।


ADVERTISEMENT


भारतले आइतवार प्रतिवन्ध लगाएपनि आइतवारसम्म भारतबाट प्याज नेपाल भित्रिरहेको थियो । दोस्रो दिन बिहानैदेखि बजारमा प्याजको कृत्रिम अभाव पैदा गरिएको छ ।


ADVERTISEMENT

# # #


अघिल्लो वर्ष पनि ठीक यही समयमा भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएको थियो । प्रतिवन्ध लगाएको दोस्रो दिन नै दोब्बरसम्म प्याजको मूल्य वृद्धि गरेका व्यवसायीले प्याज लुकाएका थिए । त्यतिवेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं कालिमाटीस्थित कालिमाटी तरकारी तथा फलफूल केन्द्रमा अनुगमन गर्दा ३५० बोरा प्याज लुकाएको अवस्थामा पाइएको थियो ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना प्याज निर्यातमा प्रतिवन्ध लगाएको दोस्रै दिन बजारमा अभाव देखिनु कृत्रिम भएको बताउँछन् । विगतमा पनि व्यापारीहरुले निर्यात प्रतिवन्ध लाग्नेवित्तिकै कृत्रिम अभाव सिर्जना गरी प्याज लुकाउने गरेको बताउँदै उनले कालोबजारी हुन नदिन सशक्त अनुगमन गर्न आवश्यक रहेको बताए ।