काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका छन् । कुलमानलाई प्राधिकरणमा मंगलबार एक कार्यक्रमका बीच कर्मचारीहरुले विदाई गरेका हुन् ।


ADVERTISEMENT


२०७३ सालमा प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमानको कार्यकाल गत आइतबार नै सकिएको थियो । त्यही अनुसार उनी सोमबारदेखि कार्यालय आउन बन्द गरेका थिए । सोमबार नै सरकारले उनलाई पुनः नियुक्ति दिने हल्ला चलेपनि त्यस्तो निर्णय भएन ।


ADVERTISEMENT

# # #


विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन–जानु समान्य प्रक्रिया भएको बताए । एउटै व्यक्ति सँधै रहिरहनुपर्छ भन्नेमा आफू नभएको भन्दै उनले कुनै पनि कुरा विकल्परहित नहुने उल्लेख गरे ।

‘हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो। अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्छ। यो विषय हाम्रो लागि राम्रो हो’, बिदाइ भाषणमा घिसिङले भने, ‘कार्यकारी निर्देशक आउने जाने हुन्छ। एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन। विकल्परहित केही हुँदैन।’

कर्मचारीले प्राधिकरणमा रातको १०–१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको बताए । अगामी दिन प्राधिकरणको लक्ष्य एकदम सुन्दर रहेको उनले बताए ।

नेपालमा लोडसेडिङ अन्त्य गरेको जस कुलमानलाई जान्छ । उनले वर्षौँ देखि अर्बौं घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्‍याएका छन् ।