काठमाडौं – सर्वोच्च अदालतका पहिलो प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ ।


ADVERTISEMENT


१०० वर्षका उनको मंगलबार साँझ काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा निधन भएको हो । उनको निमोनियाका कारण निधन भएको चिकिसकले जनाएका छन् ।


ADVERTISEMENT

# # #


वि. सं. २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत स्थापना भएपछि सिंह पहिलो प्रधानन्यायाधीश बनेका थिए । प्रधानन्यायाधीश बनेपछि सिंहले ३ वर्ष न्यायालयको नेतृत्व गरेका थिए ।

त्यसअघि नेपालमा प्रधान न्यायालयका रुपमा काम कारवाही हुने गर्थ्यो । त्यसको नेतृत्व भने हरिप्रसाद प्रधानले गरेका थिए ।

यस्तो छ सिंहको जीवनयात्रा

अनिरुद्रप्रसाद सिंहले राष्ट्रको अति उच्च पदमा रहेर ६ दशक मुलुकको सेवा गरे । वि.सं. २००३ सालमा झापा मालको हाकिम भइ नेपाल सरकारको सेवामा प्रवेश गरेका लनले वि.सं. २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई कार्य गरेका थिए ।

वि.सं २०१२ सालमा शाही सल्लाहकारमा मनोनित भएका उनी वि.सं. २०१३ सालमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश र वि.सं. २०१६ सालमा लोकसेवा आयोगको अध्यक्षमा मनोनित भएका थिए ।

वि.सं. २०१७ सम्ममा कानुनमन्त्री, वनमन्त्री लगाएत छ-सात मन्त्रालयको मन्त्रीको रुपमा सेवा गरेपछि २०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुखको पदमा नियुक्त गरेका थिए ।

वि. सं २०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३५ सालमा अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उनलाई मनोनयन गरिएको थियो । सो पदमा उनी २०४२ सालसम्म कार्यरत रहे । त्यसपछि २०४२ सालमै राजसभा स्थायी समितिको सभापतिमा नियुक्त भए । सो पदमा २०४७ सम्म कार्यरत रहेपश्चात् राजपरिषद् विघटन वा खारेज हुनुपुर्वसम्म सदस्यमा बने । उनले समय समयमा गठन हुने दर्जनौँ अति उच्च समितिहरु तथा छानबिन समितिहरुको समेत इमान्दारीपूर्वक जिम्मेवारी सम्हाल्नु भएको थिए ।

न्यायालयमा रहँदा

न्यायालयमा रहँदा अनिरुद्र प्रसाद सिंहले गरेका फैसलाहरुले नेपालको न्याय जगतको विकासमा विशेष महत्व राख्छन् । अदालती निर्णयमा विशेष दर्शन प्रतिपादन गरी न्यायालयको गरिमा उच्च पारेका अनिरुद्र प्रसाद सिंहका कयौं फैसला मध्ये बि.पि. कोइराला विरुद्ध नेपाल सरकारको मुद्दा लगाएतका मुद्यामा न्यायजगतका लागि योगदान पुग्ने गरी नजिर स्थापना भएका छन् । त्यो बेला चारपासे न्यायाधीशहरुको बाहुल्यता थियो न्यायालयमा । कानुनमा स्नातक हासिल गरेकाहरु वकालतमा आउनुपर्छ भनी हौसला दिने काम उनीबाट नै भएको थियो । न्यायाधीशहरु पनि कानुनमा स्नातक हुनुपर्छ भन्ने मान्नेता राख्ने अनिरुद्र प्रसाद सिंहले नेपालको कानुनी क्षेत्र विकासकै निम्ति निकै संघर्ष गरेका थिए ।

अदालतका नजिरहरुको अभिलेखीकरणका लागि उहाँले २०१५ सालबाट नेपाल कानुन पत्रिका (नेकाप)को प्रकाशन आरम्भ गरेका थिए । जसको महत्व न्यायालयमा आज पनि उत्तिकै छ । न्यायालयलाई कार्यकारिणी बाट स्वतन्त्र बनाउनका लागि उनको हरदम प्रयास रह्यो ।

“कार्यकारिणी भनेको चील हो भने अदालत भनेको कुखुराको माउ र नागरिक भनेका चल्ला हुन्, चीलबाट चल्ला जोगाउने काम माउरुपी कुखुराले गरेको हुन्छ” कत्तिले हरिप्रसाद प्रधान को हो यो कथन भन्ने गरेपनि धेरैले यो कथन अनिरुद्र प्रसाद सिंहकै हो र फैसलामै उल्लेख छ भन्ने गरेका छन् ।